जापान जाँदै जासुसहरू

जापान जाँदै जासुसहरू

एकातिर सुरक्षा चुनौती बढिरहेको छ । राजावादीको उपद्रो जारी छ । यस्तोमा गोप्य सूचना संकलन र त्यसअनुरूपको सुरक्षा योजना निकै महत्वपूर्ण हुन्छ । नेपालमा त्यस्तो सूचना बटुल्ने छुट्टै निकाय छ । जसको नाम हो, राष्ट्रिय अनुसन्धान विभाग । तर, त्यसका प्रमुख हुतराज थापाको भने अर्कैतिर ध्यान केन्द्रित रहेको देखिएको छ । समाचार स्रोतका अनुसार यही वैशाख २० गते अमेरिका बस्ने जेठा छोराको बिहेको चटारो एकातिर छ भने लगत्तै विदेश भ्रमण गर्ने चाँजोपाँजो मिलाइँदैछ । कार्यावधि सकेर आउँदो भदौमा घर जानुपर्ने व्यक्तिले करियरको अन्तिम दिनमा उल्लेख्य र स्मरणयोग्य काम गरेर देखाउनुपर्ने हो । तर, उनी भने प्रधानमन्त्रीका मान्छेहरूको साथ लिएर विदेश सयर गर्ने ध्याउन्नमा छन् । 

उनले विदेश जाने योजना सहजै स्वीकृत होस् भनेर भ्रमण टोलीमा ओलीले धर्मपुत्र मान्दै आएका झापा, दमकका गोविन्द थापाकी श्रीमतीलाई समेत समावेश गरेका छन् । आफूलाई ओलीको छोरो बताउँदै हिँड्ने गोविन्द थापा तिनै व्यक्ति हुन्, जसले दमकमा भ्यूटावर बनाउन लगाएर ओलीलाई बदनाम गराई चिनियाँ नेता तथा व्यापारीहरूलाई पटक पटक बाको नाम बेचे । उनै गोविन्दकी श्रीमती राष्ट्रिय अनुसन्धान विभागको डिएसपी सरह पदमा कार्यरत बीना केसीलाई हुतराजले टोलीमा राखेर भ्रमण स्वीकृत गराउन फाइल प्रम कार्यालयको प्रशासन हेर्ने सचिव चुडामणि पौडेल हुँदै सदरका लागि माथि पुर्‍याइसकेका छन् ।

जापानमा धेरै नेपाली बस्ने र तिनैमध्येबाट सामाजिक सञ्जालमार्फत् रतन कार्कीहरूले प्रधानमन्त्रीको मानमर्दनका भिडियो पोष्ट गर्ने गरेकोले त्यस्ता पात्रहरूको पहिचानका निम्ति समकक्षीसँग समन्वय गर्ने बहाना बनाइएको छ । टोलीमा हुतराजको नयाँ घर रहेको जिल्ला भक्तपुरका इन्चार्ज टेकराज तिमिल्सिनालाई समेत राखिएको छ । एआइजी टेकेन्द्र कार्की पनि त्यसैमा छन् । 

टिप्पणीहरू