इन्द्रलाई बेफ्वाँकमा दुःख दिइयो

इन्द्रलाई बेफ्वाँकमा दुःख दिइयो

लोकप्रिय पत्रिका जनआस्था साप्ताहिकमा काठमाडौंका पूर्वएसपी इन्द्र न्यौपानेले २०६२ साल मंसिर १६ गते तत्कालीन राजा ज्ञानेन्द्रको सवारी चल्दा भएको ढुङ्गामुढा काण्डको संस्मरणात्मक लेखमार्फत आफूलाई दरवारले कारबाही गरेको र गणतन्त्र आएपछि बल्ल त्यो फुकुवा भएको जिकिर गरेका छन् । सो दिनको घटनाका निम्ति कारबाही गर्नुपर्ने हैसियतमा न्यौपाने थिएनन् । उनीभन्दा माथिल्लो कमाण्डमा धेरै थिए । त्यसो त सो दिन सवारीको सुरक्षा प्रबन्ध संयुक्त कमाण्डले गरेको थियो ।

आइजिपी श्यामभक्त थापा, अपरेशनल एआइजी म राजेन्द्रबहादुर सिंह र एआइजी ओमविक्रम राणा वा अरू कसैले एक्लै जिम्मा लिनुपर्ने अवस्था थिएन । राजाको फिर्ती सवारीको दिन सेना, प्रहरी र सशस्त्र खटिएका थिए । त्यसैले तपाईंले मात्रै किन राजीनामा दिनुपर्ने ? भन्दै मैले छाड्ने मनसाय व्यक्त गरेका आइजिपी थापालाई रोकेको थिएँ । त्यसबाट आइजिपी थापा र एआइजी ओमविक्रम राणाबीच भएको सल्लाहबमोजिम एकाएक इन्द्र न्यौपानेलाई कारबाही गरिएछ ।

त्यसबेलाका गृहसचिव चण्डीप्रसाद श्रेष्ठ जिउँदै छन् । दरवारले कुनै कारबाही नै गरेको होइन । प्रहरी आफैं जान्ने भएको हो । त्यसो त दरवारका संवाद सचिव फणिराज पाठकले उल्टै एसपी न्यौपानेलाई किन कारबाही गरेको भन्दै मलाई सोधेका थिए । त्यसबेला बानेश्वरको सुरक्षा व्यवस्था हेर्न मैले नै अपरेशन एआइजीको हैसियतबाट उनलाई जिम्मेवारी दिई खटाएको थिएँ ।

कारबाही गर्ने नै भए ढुंगामुढा भएको ठाउँमा खटिएका हिम गुरुङमाथि हुुनुपथ्र्यो तर किन न्यौपानेलाई दुःख दिइयो ? मैले भित्री कारण बुझ्न सकेको छैन । त्यसबेलाको मुख्य जिम्मेवार त राजाको एडिसी टीका धमला हो । अगाडि ढुंगामुढा हुँदै छ भनेपछि सवारी रोक्नुपर्ने दायित्व उनकै थियो । अन्य सुरक्षा निकायलाई खबर गर्ने, सूचित गर्ने दायित्व उनकै हो ।

तर, उनले त्यो दायित्व त्यसबेला निर्वाह गरेनन् । जे भए तापनि न्यौपानेलाई गणतन्त्रको सिपाही बनाउने काम भने यसबाट पक्कै भएको छ ।
 

टिप्पणीहरू