प्रधानमन्त्रीले साेध्नुभयाे : श्रीमान, श्रीमतीका लागि विधान फेरिन्छ, के सिक्नुहुन्छ, के पढ्नुहुन्छ ?
प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुलाई विदेश गएपछि झगडा गर्न सिकेको हो ? भनेर प्रश्न गर्नुभएको छ । बद्री केसी नेतृत्वको समूहले होटल याक एण्ड यतिमा आयोजना गरेको ‘एनआरएनए ग्लोबल कन्क्लेभ’को उद्घाटन गर्दै उहाँले संगठनमा देखिएको पछिल्लो विवादबारे संकेत दिनुभएको छ ।
सर्वोच्च अदालतको परमादेशअनुसार गठित शेष घले नेतृत्वको उच्चस्तरीय समितिले हालै सम्पन्न गरेको एकता महाधिवेशनबाट नेपाली कांग्रेस निकट महेश श्रेष्ठ अध्यक्षमा निर्वाचित भइसकेका छन् । सोही सन्दर्भ कोट्याउँदै प्रधानमन्त्री ओलीले विदेशमा बस्ने नेपाली नागरिकलाई राजनीति नगर्न सुझाव दिनुभएको छ । ‘एउटा व्यक्तिको लागि विधान फेरियो, एउटा श्रीमान र श्रीमतीको लागि विधान फेरियो’, उहाँले भन्नुभयो, ‘यसरी पनि चल्छ संस्था ? विदेशमा के झगडा गर्न सिक्नुभएको हो ? के सिक्नुहुन्छ, के पढ्नुहुन्छ कुन्नी ?’
नेकपा (एमाले)का अध्यक्ष समेत रहनुभएका ओलीले केसी नेतृत्वको समूह नै एनआरएनएको वैधानिक संस्था रहेको पनि दोहोर्याउनुभयो । साताअघि बालुवाटारमा निम्तो दिन पुगेको केसी समूहलाई ‘तपाईंहरु नै हो आधिकारिक’ भन्दै ढाडस दिँदै उहाँले आगामी अक्टोबरसम्म काम गर्ने अधिकार रहेको दावी गर्नुभयो । ‘यो विधिको जमाना हो, यो प्रक्रियाको जमाना हो तर यहाँ त स्वेच्छाचारिता हावी भयो यो विल्कुल गलत छ’, उहाँले थप्नुभयो ।
रोचक के छ भने, केसी नेतृत्वको समूहले कार्यक्रमको लागि परराष्ट्रमन्त्री डा. आरजु राणालाई पनि निम्तो दिएको थियो । तर उहाँ आज अनुपस्थित हुनुभएको छ । स्रोतका अनुसार केसी नेतृत्वको समूह साताअघि निम्तो दिन गएको बेला मन्त्री राणाले ‘सगरमाथा संवादको तयारीमा व्यस्त छु, भ्याउँदिन होला’ भन्दै पूर्व संकेत दिनुभएको थियो ।
प्रधानमन्त्री ओलीले केसी समूहलाई समर्थन गर्दै आउनुभएको छ, भने मन्त्री राणाले श्रेष्ठ नेतृत्वको समूहलाई साथ दिनुभएको छ । एनआरएनए भित्रको विवादले पछिल्लो समय प्रधानमन्त्री ओली र मन्त्री राणाबीचको सम्बन्ध समेत चिसिँदै गएको चर्चा राजनीतिक वृत्तमा छ ।
टिप्पणीहरू