खर्च घटाउने उपाए सुनाउँदै क्रमभंगतामा जोड

खर्च घटाउने उपाए सुनाउँदै क्रमभंगतामा जोड

नेकपा (माओवादी केन्द्र)का बरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले मन्त्रीहरुको संख्या घटाउन प्रस्ताव गरेका छन् । 

आज राष्ट्रिय सभा बैठकमा बोल्दै उनले प्रदेश र संघीय मन्त्रीहरुको संख्या कटौती गरेर राज्यलाई आर्थिक भारबाट मुक्त गराउनुपर्ने टिप्पणी गरेका हुन् । स्थिर सरकारको लागि शासकीय स्वरुप बदल्नुपर्ने मत श्रेष्ठको छ । 

‘यो महंगो र भ्रष्टकृत प्रणालीलाई फेरेर समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ, सांसदहरुको संख्या घटाएर उनीहरुलाई कानुन बनाउनमा केन्द्रीत गरौँ, मन्त्रीहरु बाहिरबाट जाउन्’, उनले भने, ‘अहिलेको प्रणाली भ्रष्टाचारी र दलालहरुलाई अवसर मिल्ने खालको भयो, माथिदेखि तलसम्म मन्त्रीहरुको संख्या घटाऔँ, प्रदेशका मन्त्रीहरु झन् घटाउनै पर्नेछ ।’

पूर्व गृहमन्त्रीसमेत रहेका श्रेष्ठले परिवर्तनको लागि क्रमभंगता अनिवार्य शर्त रहेको तर्क पनि गरे । ‘परिवतर्नले क्रमभंगता खोज्छ, त्यो गर्नैपर्छ, राज्यका अंगहरुको संरचनामा पनि पुनरावलोकन गरौँ’, उनले थपे । 

त्यस्तै, संवैधानिक निकायहरुमा पनि राजनीतिक नियुक्ति अन्त्य गर्नुपर्ने श्रेष्ठको भनाई रह्यो । अघि भने, ‘निर्वाचन आयोग, अख्तियार, विश्वविद्यालय, न्यायालयजस्ता ठाउँमा राजनीतिक भागवण्डाको आधारमा नियुक्ति गर्ने काम रोकौँ, यो व्यवहारमा केही कठिन त, तर असम्भव छैन ।’

टिप्पणीहरू