छुट्नुअघि इजलासमा आमाको कसम खाँदै मिश्रको भावुक बयान
तीनकुनेको राजावादी हिंसा भड्काउन भूमिका खेलेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता रविन्द्र मिश्र ४७ दिन हिरासत बसेर आज छुटेका छन् । सर्वोच्च अदालतले आज हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो ।
राज्यविरुद्धको कसुर, संगठित अपराध र अपराधिक उपद्रवको कसुरमा प्रहरीले आठौँ पटक म्याद थप गरेर अनुसन्धान गरिरहँदा मिश्रको तर्फबाट पत्नी सरिका कार्कीले गैरकानुनी तवरले थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् । उक्त रिटउपर हिजो र आज सुनुवाइ भएपछि न्यायाधीश कुमार चुँडाल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले छोड्न आदेश गरेको हो ।
त्यसअघि बहसका क्रममा लय मिलाएर बोल्न शिपालु मिश्रले इजलासमै आमाको कसम खाएर आफूमाथिका आरोप प्रमाणित गर्न चुनौती दिएका थिए । इजलासबाट आफ्ना भनाई राख्न १० मिनेट समय पाएका उनले भावनात्मक कुरा गर्दै न्यायको याचना गरे ।
‘मेरो मोबाइल सिज गरियो, बैंकको खाता रोक्का गरियो, हुँदाहुँदा फेसकुबसँग मेरो डिटेल मगाइएको छ, आखिर म भागेर कहाँ जान्छु ? यो देश छाडेर कहाँ जान्छु ?’, मिश्रले इजलासमा भनेका थिए, ‘आज मेरी ८२ वर्षीय विरामी आमाको कसम आएर भन्छु, म माथि लगाएका आरोपहरु सबै झुट हुन्, कसैले ती आरोप प्रमाणित गर्न सक्नुहुन्छ भने म खुल्ला हृदयले स्वीकार गर्नेछु ।’
मिश्रसँगै सोही आरोपमा पक्राउ परेका राप्रपाका महामन्त्री धवल शमशेर राणा भने यसअघि नै थुनामुक्त भइसकेर पुनः राजावादी आन्दोलनमा सक्रिय छन् ।
टिप्पणीहरू