गृहमन्त्रीविरुद्ध प्रमाणको ठेली भेटिएको रास्वपा सांसदको दाबी

गृहमन्त्रीविरुद्ध प्रमाणको ठेली भेटिएको रास्वपा सांसदको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकविरुद्ध ‘प्रमाणको ठेली’ बोकर संसद भवन पुगेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नतालाई प्रमाणित गर्ने १५ सयभन्दा कागजातहरु फेला परेको उनीहरुको दावी छ । 

ती प्रमाण आजको बैठकमा पेश गरिने सांसद हरि ढकालले जानकारी दिए । उनका अनुसार बिचौलियाहरुले गृहमन्त्री लेखकको बैंक खातामा पटक पटक लाखौँ रकम हालेका छन् । ‘गृहमन्त्रीकै खातामा पैसा आएको ट्रन्जिक्सनका स्लिपहरु छन्, पैसा फेरि उहाँको खातामा मात्रै होइन, हामीले चिनेका, वरिपरि देखिरहने अन्य व्यक्तिको खातामा समेत पैसा गएको छ’, उनले ठेली देखाउँदै भने, ‘अब यसको लागि उच्चस्तरीय आयोग नबनाउँदासम्म यो प्रकरणको निष्पक्ष र न्यायिक निरुपण हुन सक्दैन ।’

रास्वपाले फेला पारेका प्रमाणले गृहमन्त्री लेखकको बोली बन्द हुने समेत ढकालले बताए । ‘पहिला हामीलाई यी प्रमाण सदनमा पेश गर्न दिनुस्, त्यसपछि गृहमन्त्रीको बोली हेरौँ न, कसरी यी प्रमाणविरुद्ध बोल्नुहुन्छ, उहाँको खातामा अनायासै जोकोहीले पनि पैसा त हाल्दैन होला नि’, उनले थपे । 

प्रतिपक्षी दलहरु गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने अडानबाट टसमस नभएपछि संसद बैठक बस्न सकेको छैन । बैठक सुचारुका लागि सभामुख देवराज घिमिरे सत्तापक्ष र प्रतिपक्ष दलका सचेतकहरुसँगको छलफलमा व्यस्त हुनुहुन्छ ।

टिप्पणीहरू