प्रकाशचन्द्र खतिवडाका तीन कविता

१. हार्ने पालो
यसबेला म हाँसिरहेको छु
तिमीले अनिवार्य रुनु पर्थ्याे नै ।
हिजोसम्म म रोएँथे
तिमी खित्का छोडेर हाँस्दै थियौ
तिमीले जितेका थियौ ।
अब अनुुभव गर
हार कस्तो हुन्छ ?
जित कस्तो हुन्छ ?
समयले पल्टा खायो हगि
तिम्रो आँगनमा लेउ पलायो
थोत्रिएको तिम्रो त्यो घर
तिम्रो अहं सँगै
डगमगाएर कम्पनले
विसर्जित भयो
तिमी मुर्दा हाँसो जस्तो किन हाँस्छौ ?
हिजो सम्मको तिम्रो गडगडाहाट ताली
आज कुन दुलोमा लुकी बस्यो ?
किन बोल्दैनौ ?
बोल
बरु म शब्दहरु पैचो दिउँला
यसबेला मैले युद्ध जिते
तिमीले युद्ध हार्याै
हार्नुको पनि बेग्लै मजा होला
युद्धको नियम विपरीत जान मिल्दैन
तिमीले आत्मसमर्पण गरे हुन्छ ।
२. विजयको बाँसुरी
धेरै वर्ष पहिलेबाट
सुरुवात भएको
हामी भित्रको युद्ध
सल्बलाएर यतिबेला
स्वतन्त्रता संग्रामको प्रतीक बनेर
बैरीलाई निशाना बनाइ
अगाडि बढ्दै छन्
पाइलाहरु एक तमाशले ।
वर्षौ पुरानो धरहरा
ठिङ्ग एक्लै उभ्भिएको छ
थाहा छैन
कुनै दिन यो गर्ल्याम्म ढल्न सक्छ
भर्खरै मात्रै
भूकम्पको धक्काले
धरहरालाई थप्पड हानेर गएको छ ।
बुडो धण्टाघर
एकोहोरो
ट्वाङ ट्वाङ
घण्टीको आवान दिइ रहेछ
रानीपोखरी दिक्दारिएर
घण्टाघर सँग
जिस्की बसेकी छे ।
गुम्सिएर मनहरु
कैदी जस्तो
धेरै भो बाँचेको
अब विद्राेह गरे हुन्छ
भोकसँग जुझ्दै
अब हिँडे हुन्छ ताल मिलाएर
संघर्षको यात्रा तय गर्दै
नरोक पाइलाहरु
गन्तव्य पुग्नै छ
आत्मा रोइरहेको बेला
नरोएको अबसर छोपी
विजयको बाँसुरी फुक्नै छ ।
३. हाम्रा मागहरु
मैले अन्यायको विरोध गरे
र न्यायको माग गरे
मैले अत्याचारको विरोध गरे
र सामञ्जस्यताको माग गरे
मैले असमानताको विरोध गरे
र समानताको माग गरे ।
माग्नु अपराध थिएन भने
मैले कसरी फलामे सिक्री प्राप्त गरे ?
बुट र लाठी प्राप्त गरे
के यही हो त हामीले खोजेको स्वतन्त्रता ?
के यही हो त हामीले चाहेको समानता ?
तिनीहरुने दिएको क्रूर यातना
खुनी मनसायले तयार गरिएका बन्दीगृह
अब भत्कने छन्
अब चुँडिने छन्
चिसा फलामे जञ्जिरहरु
र
हामी मागिरहने छौ
न्याय
समानता
स्वतन्त्रता
मुक्ति
र केवल अन्तिम मुक्ति युद्ध ।
टिप्पणीहरू