विभाजित हुँदै बुद्ध एअर

चर्चित नेपाली उखान, ‘भाइ फुटे गँवार लुटे’ नेपालका एक स्थापित व्यवसायी परिवारमा चरितार्थ हुँदै छ । बस्नेत परिवारको सोही लफडाबाट ०७८ सालदेखि अवैध रकम ओसारपसार गराएबापत राजश्व अनुसन्धानमा हिजोआज बयान दिइरहेका सौर्य एयरलाइन्ससम्बद्ध दीपक पोख्रेल लाभान्वित हुने अवस्था बनिरहेको छ । त्यो कसरी भने सुरेन्द्रबहादुर बस्नेतका दुई छोरा वीरेन्द्र र शिवेन्द्रबीच सम्पत्तिको लफडा छ । सुरेन्द्रले मृत्युअघि नै दाजुको नाममा ६०% र भाइको परिवारलाई ४०% सेयर दिने गरी भविष्यमा हुन सक्ने सम्पत्तिको झगडा टुंग्याइदिएका थिए । तर, जसै सुरेन्द्रको मृत्यु भयो, वीरेन्द्रले अमेरिका पलायन भइसकेका भाइको श्रीमती, भतिज र भतिजीलाई कार्यालयमा ढिम्किनै दिएनन् । बाउले छुट्याइदिएको अंशबापतको सम्पत्ति कागजमा हैन, व्यवहारमै पाउनुपर्यो भन्दै उनी अदालतको शरणमा पुगेका छन् ।
अदालतबाट फैसला हुँदा उनले हक पाउने लगभग निश्चितजस्तै छ । यसरी प्राप्त हुने सम्पत्ति मिलेर परिचालन गर्ने योजनामा उनलाई सौर्यका मालिक दीपक पोखरेलले साथ दिएका छन् । सौर्यको पनि समस्या के हो भने ऊसँग जम्मा दुई वटा मात्रै जहाज थिए । जसमध्ये एउटा पोहोर काठमाडौँ विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटनामा पर्यो । अब एउटा मात्रै जहाजको भरमा उसलाई सेवा सुचारु गर्न नागरिक उड्डयन प्राधिकरणले अनुमति दिँदैन । प्रधानमन्त्री केपी ओलीसँग जतिसुकै निकट साइनो सम्बन्ध भए पनि हवाई सेवा सञ्चालन गर्न आवश्यक संख्यामा विमान चाहिन्छ नै ! जुन किन्ने क्षमता दीपकसँग अहिले किन पनि छैन भने उनी राजश्व अनुसन्धानको घेरामा छन् । हो, त्यही समस्याले गर्दा वीरेन्द्रका भाइलाई फकाउन थालेका हुन् ।
वीरेन्द्रका भाइको पनि समस्या के हो भने आफ्नो अंशमा पर्ने जहाज लिएर उडाउन उनीसँग कम्पनी छैन । यसरी, शिवेन्द्र र दीपक दुवैको स्वार्थ सिद्ध हुनेगरी बन्दै गरेको गठबन्धनले वीरेन्द्रलाई भने सकसमा पारेको देखिन्छ । स्रोतका अनुसार यदि अदालतले निष्पक्ष फैसला गर्ने हो भने शिवेन्द्रले बुद्ध एयरका सातदेखि आठ वटा एटिआर विमान पाउनेछन् ।
दीपक झापामा सुपारीको कारोबारीका रुपमा चर्चित थिए । कारोबार चलिरहेकै बेला केपी ओलीसँगको सम्बन्ध प्रगाढ बनेको हो । त्यही सम्बन्धको आधारमा दीपक शिवेन्द्रलाई जिताउन सफल हुनेछन् भन्ने केही वकिल ठान्दछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूल गेटकै अगाडि दर्शन नमस्ते ट्राभल्सका सञ्चालककी श्रीमती रेशा शाक्य पोखरेल सौर्य एयरमा काम गर्थिन् । उनैलाई बोकाएर स्रोत नखुलेको रकम विराटनगरबाट काठमाडौँ लैजाने क्रममा पक्राउ परेपछि रेशासहित दीपक पोखरेल पनि अनुसन्धानमा तानिएका हुन् ।
०७८ साल पुस १७ गते ५० लाख नगदसहित विराटनगरबाट काठमाडौँ उड्दा रेशा पक्राउ परेर अहिले पनि मुद्दा खेपिरहेकी छन् । त्यही मुद्दामा बयान दिन दीपक अघिल्लो हप्ता राजश्व अनुसन्धान विभाग पुगेका थिए ।
टिप्पणीहरू