राजेन्द्रलाई पूर्वराजाको घोचपेच

राजेन्द्रलाई पूर्वराजाको घोचपेच

प्रष्ट एजेण्डा र अनपेक्षित राम्रो जनउभारको बावजुद राप्रपाको राजा फर्काऊ आन्दोलन नराम्ररी तुहियो । जसका कारण नेपालमा उल्टो खोलो बगाउने घोषणा गरिसकेका सो दलसम्बद्ध कार्यकर्ता निराश छन् । राप्रपानिकट एक स्रोतका अनुसार, अरू कसैले नभएर स्वयं पूर्व राजा ज्ञानेन्द्र शाह र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको बेमेलका कारण नै आन्दोलन सकिएको हो । 

ज्ञानेन्द्रले राजेन्द्र लिङ्देनलाई नेता मान्न गरेको अस्वीकार नै प्रतिगामी भनेर चिनिएका राप्रपालगायत राजावादी दलहरूका लागि घातक बनेको उनीहरूको विश्लेषण छ । राप्रपाभित्रको किचलो अहिलेदेखिको होइन । यो त्यस्तो पार्टी हो जसको स्थापनादेखि नै सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दबीच टक्कर रह्यो । जसको निरन्तरता अहिले धवलसमशेर र राजेन्द्र लिङ्देनको रूपमा रहेको छ । 

सोही स्रोत भन्छ, ‘राप्रपाको विवाद चरम अवस्थामा त्यसबेला पुग्यो जब राप्रपाले सरकारमा जाने निर्णय गर्‍यो, राजेन्द्र लिङ्देनले धवल समशेरलाई मन्त्री बनाउने आश्वासनसहित सरकारमा जाने सहमति जुटाए । सिरहामा ज्ञानेन्द्रलाई भेट्नसमेत धवललाई लिएर गए । त्यसैबेला धवललाई पनि मन्त्री बनाउने घोषणा गरे । तर, मन्त्री नबनाएपछि उनी यतिसम्म रिसाए कि छोरीको विवाहमा समेत पार्टी अध्यक्षलाई बोलाएनन् ।’ त्यसबेला के पनि चर्चा चलेको थियो भने धवल समशेरकी छोरीले नै स्वयं राजेन्द्रलाई आफ्नो बिहेमा नबोलाउन पितालाई सुझाएकी थिइन् ।

यही पृष्ठभूमिमा झापा पुगेर पूर्वराजा ज्ञानेन्द्रले रवीन्द्र मिश्र, धवलसमशेर जबरा, डाक्टर प्रकाशचन्द्र लोहनीलगायतका नेताहरूलाई भेट्न बोलाए । तर, राजेन्द्र लिङ्देनलाई छुट्याएपछि अरूले त्यसो नगर्न सल्लाह दिए । ढिलो गरी ज्ञानेन्द्रबाट निम्त्याइएका राजेन्द्र पनि अरूभन्दा ४० मीनेट ढिलो पुगे । त्यसमाथि उनको पोशाक औपचारिक दौरा सुरुवाल थिएन । जिन्स प्यान्ट लगाएर ज्ञानेन्द्रलाई भेटेपछि उनीप्रतिको दृष्टिकोण बदलियो । आन्दोलनको पूर्वसन्ध्यामा सोल्टीमा लञ्च मिटिङमा निम्त्याइएका राजावादीसँग भलाकुसारीका क्रममा समेत ज्ञानेन्द्रले राजेन्द्र लिङ्देनलाई निकै निशाना बनाएका थिए । सो छलफलमा सहभागी एक नेताका अनुसार ज्ञानेन्द्रले संबोधनमा ‘तिमी’ भन्दै उनको पदलाई भने बोलीपिच्छे जिस्काउँदै ‘अध्यक्षज्यू, अध्यक्षज्यू’ भनेका थिए । सो संवादको क्रममा तिमीको आदरभाव र ‘अध्यक्षज्यू’ को संबोधन धेरै नै नमिलेको देखिएको सहभागी नेताको टिप्पणी छ ।

राजावादी नेताहरूका अनुसार अहिलेको राजावादी आन्दोलनमा निर्मल निवासबाट खर्च प्राप्त हुन शुरु भएको छ । धीरेन्द्रकी कान्छी छोरी शीताष्मामार्फत सो रकम आन्दोलनकारीहरूलाई प्राप्त हुने गरेको छ । तर, पछिल्लो पटक प्राप्त रकम ‘अहिले आन्दोलन नभएका कारण राखिराख्नु परेन’ भन्दै राजेन्द्र लिंगदेनले फिर्ता गरेको बताइन्छ । यी सबै कारणले गर्दा चिसिएको ज्ञानेन्द्र र राजेन्द्रबीचको सम्बन्ध अर्को साल हुने राप्रपाको महाधिवेशनमा परिणामको रूपमा देखिने सम्भावना छ । पहिले कमल थापाविरुद्ध मोर्चाबन्दी गरेर राजेन्द्र लिङ्देनलाई अध्यक्ष बनाएझैँ अहिले राजेन्द्रविरोधी गठबन्धन तयार भइरहेको र भावी अध्यक्षको रूपमा कसलाई अगाडि बढाउने भन्ने विषयमा घनीभूत छलफल चलिरहेको राजेन्द्र लिङ्देन इतर खेमाका एक नेताले बताए । अबको समीकरण राजेन्द्र लिङ्देन भर्सेज धवलसमशेर, रविन्द्र मिश्र, डा. प्रकाशचन्द्र लोहनी, जयन्त चन्द, विक्रम पाण्डेलगायतको गठबन्धनबीच चल्ने देखिएको छ । विश्लेषकहरू के भन्छन् भने विगतमा जुन अवस्था उत्पन्न भएर नागार्जुन दरबारले कमल थापालाई हटायो अहिले राजेन्द्र लिङ्देनको हकमा पनि त्यही अवस्था सिर्जना हुनसक्छ ।
 

टिप्पणीहरू