प्रेमकथा न हो, कहिल्यै पूर्ण हुँदैन

प्रेमकथा न हो, कहिल्यै पूर्ण हुँदैन

मौसम है आशिकाना
ऐ दिल कहीं से उनको ऐसे में ढुँढ लाना ।

कहना के रुत जवां है, और हम तरस रहे हैं
काली घटा के साए, बिरहनको डँस रहे है
डर है न मार डाले सावनका क्या ठिकाना ।
सुरज कहीं भी जाए, तुम पर न धूप आए
तुमको पुकारते हैं, इन गेसुओं के साए
आ जाओ मैं बना दुँ, पलकोंका शामियाना ।
फिरते हैं हम अकेले, बाँहोंमें कोई ले ले
आखिर कोई कहाँ तक, तन्हाइयों से खेले
दिन हो गए हैं जालिम, रातें हैं कातिलाना
मौसम है ...

लता मंगेशकरको स्वरबद्ध यो गीत सुन्नेबित्तिकै सबैले हिन्दी चलचित्र ‘पाकिजा’ का मार्मिक दृश्य र जीवन्त अभिनेत्री मीनाकुमारीलाई सम्झन्छन् । ‘ट्र्याजिडी क्विन’को रूपमा दर्शकमाझ लोकप्रिय उनी कवयित्री पनि हुन् । कविता, गजल, शायरी लेखेकी छन् । सन् १९३९देखि १९७२ को अवधिमा ९३ वटा चलचित्रमा अभिनय गरिन् । पहिलो चलचित्र ‘लेदरफेस’ मा जोडिँदा मात्र ६ वर्षकी थिइन् र बेबी महजबींको नाउँले काम गरेकी थिइन् । उनले अभिनय गरेका प्रायः चलचित्र सफल र सम्झनलायक छन् तर निजी जीवन भने अत्यन्त असफल अनि दुखान्त, जसको कारण मात्र ३९ वर्षको कलिलो उमेरमै देह त्याग गर्न पुगिन् । पाकिजा अन्तिम चलचित्रमध्येको एक हो, जसको निर्माण, लेखन र निर्देशन उनैका लोग्ने कमाल अमरोहीले गरेका थिए । सो चलचित्र बन्न १४ वर्ष लागेको थियो ।

मीनाकुमारी र कमाल अमरोहीबिच गहिरो प्रेम थियो, प्रेम सफल भएर बिहेमा बदलियो पनि । बिहेपछि उनीहरूले एकार्कालाई घृणासमेत गरे । घृणापछि पुनः प्रेम । मीनाको अल्पायुमै भएको निधन र जीवनमा भोग्नुपरेको असफलतालाई लिएर प्रायः सबैले कमाललाई दोष दिए तर कमाल भन्ने गर्थे– ‘मैले मञ्जुसँग (मीनालाई उनले दिएको नाउँ) गहिरो प्रेम गरें अनि त्यत्तिकै दुःख पनि दिएँ । मैले उनलाई जति कष्ट दिएँ त्योभन्दा बढी कष्ट भोगें ।‘

मीनासित कमालको पहिलो भेट मीना ६ वर्षको हुँदै भएको थियो । त्यसबेला कमाल निर्माता, निर्देशक अनि दिग्गज कलाकार सोहराब मोदीकोमा काम गर्थे । सोहराब मोदी ‘जेलर’ बनाउँदै थिए अनि उक्त चलचित्रको लागि ६–७ वर्षकी एउटी बालिकाको खोजीमा थिए । कमाल अलि बख्सको घर पुग्दा चकचके बालिका मीना केरा खाँदै थिइन् । मीनाका माता पिता दुबै रंगमञ्चसित जोडिएको भए पनि परिवार गरिबीमा डुबेका थिए । यहाँसम्म कि छोरीहरूलाई पाल्न नसकेपछि मीनालाई अनाथालयमा छोड्न लगेका थिए तर घर नपुग्दै अलि बख्सलाई छोरीको मायाले सतायो र दगुर्दै लिन गए । उनी त्यहाँ पुग्दा बालिका मीनाको शरीरभरि कमिला दौडिरहेको थियो, उनी रोइरहेकी थिइन् ।

मीनाको पढ्ने सोख थियो । एकदिन एउटा अंग्रेजी भाषाको म्यागेजिन पढ्दै थिइन् । पढ्दै जाँदा भित्र कमालको एउटा ठूलो फोटो देखिन् । त्यसबेलासम्ममा चलचित्र ‘महल’ ले डंका पिटिसकेको थियो । चलचित्रका निर्देशक कमालको सर्वत्र चर्चा थियो । कमाल कवि र लेखक पनि थिए । कमालको फोटो र उनीबारे लेखिएको लेखबाट मीना निकै प्रभावित बनिन् । यो सन् १९४९ को कुरा हो । त्यतिञ्जेलमा मीनाले थुप्रै चलचित्रमा नायिकाको भूमिका निभाइसकेकी थिइन् । सन् १९५१ मा चलचित्र तमाशामा काम गर्दै थिइन् । यो उनको २४ औं चलचित्र थियो । नायक थिए अशोककुमार र देव आनन्द । एकदिन छायांकनस्थलमा अचानक कमाल पुगे । साथमा थिए सहयोगी बाकर । 

कुराकानीकै क्रममा अशोककुमारले परिचय गराइदिए तर कमालले मीनाप्रति खासै ध्यान दिएनन् । फर्कंदा बाटोमा बाकरले मीनालाई लिएर एउटा चलचित्र बनाउन सुझाव दिए । ठीक त्यसबखत कमाल ‘अनारकली’ बनाउने सोचमा थिए । नायकमा कमल कपुर र नायिकामा मधुबालालाई लिइसकिएको थियो तर मधुबाला दिलिपकुमारको मात्र नायिका बन्न चाहन्थिन् । दिलिपलाई नायकमा नलिएपछि उनले फिल्म छाडिन् । मधुबालाको यो ब्यवहारबाट निर्माता रुष्ट भए । तब कमालले भोलि बिहानसम्ममा नयाँ नायिका खोजेर ल्याउने बचन निर्मातालाई दिए । र, आफ्नो सहायक बाकरलाई मीनासित कुरा गर्न पठाए । बाबु अलि बख्स र छोरी मीनाले पनि तुरन्तै माने । मीनालाई त्यसबेला न पारिश्रमिकसँग मतलव थियो न निर्माण कम्पनीसित । उनी आफूले मन पराएको निर्देशक कमालसँग काम गर्ने अवसर पाएकोमा दंग थिइन् ।

तर, यसबीच मीनालाई टाइफाइड भयो । ३ सातासम्म थला परिन् । निको भइसकेपछि पनि शरीर निकै कमजोर, अनुहार पनि निचोरेको कागती जस्तो । केही समय पहाडी स्थानतिर बस्दा ठीक हुन्छ भन्ने चिकित्सकको सल्लाहअनुसार मीनालाई लिएर अलि बख्स महाबलेश्वरतिर लागे । त्यहाँ केही दिन बसेर फर्कने क्रममा पुणेनजिक गाडी दुर्घटना भयो । पूरै परिवार नै अस्पतालमा भर्ना हुनुप¥यो । मीनालाई अनारकलीमा अभिनय गर्न नपाइने भयले सताउन थाल्यो तर कमाल आफैं भेट्न आएपछि उनी खुशीले गद्गद् भइन् । कमालले आफ्नै हातले मीनालाई जुस पिलाए । यसरी मीना र कमालबीच प्रेमको बिजारोपण भयो । मीनाले कमाललाई यति धेरै मनपराइन् कि उनी आफूभन्दा १५ वर्ष जेठा छन्, दुई बिहे गरिसकेका र ३ सन्तानका बुबा हुन् भन्ने कुरा उनका लागि गौण बन्यो । कमाल पनि मीनाको प्रेममा पागल बनिसकेका थिए, उनी हरेक दिन मुम्बईबाट पुणेसम्म मीनाको हालचाल बुझ्न जान्थे । जुस लैजान्थे र आफैँले पिलाउँथे । जुन दिन भेट हुन्नथ्यो दुबैले पत्र लेख्थे र भेटेको दिन साँटासाँट गर्थे । मीनाले चिन्ता लिइराखेको थाहा पाएपछि प्लास्टर चढाइराखेको हातमा कमालले पहिला ‘अनारकली’ लेखिदिए अनि फेरि अनारकलीको अगाडि ‘मेरी’ पनि थपिदिए ।

अस्पतालको बसाइमै प्रेमले शिखर चुमिसकेको थियो । त्यसपछि फिल्मको छायांकन शुरु भयो । त्यसो त स्टुडियोमा दुवै सँगै हुन्थे तर कामको चाप र अरुको उपस्थितिमा एकार्कासित कुरो गर्न सम्भव हुन्थेन । दुवै मिलेर एउटा उपाय निकाले । दुवै काम गरेर लखतरान भई घर फर्कन्थे । अनि कमाल राति साढे ११ बजे मीनालाई फोन गर्थे । फोनमा मायाप्रेम अनि वासनायुक्त कुरा हुन्थ्यो । यतिसम्म कि बिहान साढे ५ बजे मात्र संवाद सकिन्थ्यो । मीना कमाललाई कमाल साहेब भनेर बोलाउँथिन् । एकदिन भनिन्– यो नाउँ त सबैको लागि पो हो, मेरोलागि छुट्टै नाउँ हुन सक्दैन र ? कमालले सोचेर ठीक छ, त्यसोभए मलाई चन्दन भनेर बोलाउनु, म पनि तिमीलाई आजदेखि मञ्जु भनेर बोलाउँछु भनी जवाफ दिए । 

यो क्रम करिब ४ महिना चल्यो । कमालले निजी जीवनमा अनारकली पाइसकेका थिए तर चलचित्र अनारकली भने बीचैमा बन्द भयो । चलचित्रको छायाँकन बन्द भएपछि कमाललाई मीनासित भेट नहुने चिन्ताले सताउन थाल्यो । यो कुरा उनले सहायक बाकरलाई सुनाए । बाकरले बिहे गर्न सुझाए । मीनासित बिहेको कुरो गर्ने जिम्मा पनि उनैले उठाए । बाकरको कुरो सुनेर मीना पनि दंग परिन् र तुरुन्तै हुन्छ भनिन् । तर, अलि बख्ससित मीना, कमाल, बाकर सबै डराउँथे । महाबलेश्वर जाँदा भएको दुर्घटनामा मीनाको हातमा नराम्रोसित चोट लागेको थियो र कान्छी औंला सधैँका लागि टेढो हुन पुगेको थियो । सोको उपचारार्थ मीना दिनहुँ क्लिनिकमा थेरापी गर्न जान्थिन् । मीना अलि बख्स र बहिनी मधुसँग क्लिनिक जान्थिन् । अलि बख्सले उनीहरूलाई गाडीमा लान्थे र २ घण्टापछि फेरि लिन जान्थे ।

सन् १९५२ को फेब्रुअरी १४ अर्थात् भ्यालेण्टाइन्स डेको दिन । अलि बख्स छोरीहरूलाई क्लिनिकमा छोडेर फर्के । एकछिनपछि क्लिनिक बाहिर एउटा गाडी रोकियो । मीना र मधु क्लिनिकबाट निस्केर उक्त गाडीमा बसे । गाडी सिधै एक जना मुस्लिम पुरोहित काजीकोमा पुगेर रोकियो । काजीले मधुकै अगाडि मीना र कमालको निकाह गरिदिए । बिहे सकेर दिदीबहिनी पुनः क्लिनिक पुगे । त्यहाँबाट घर । अलि बख्सले छोरीको बिहे भइसकेको सुइँकोसम्म पाएनन् । मीना तुरन्तै बुबा र बहिनीलाई छाडेर कमालको घर जान चाहन्नथिन् । किनभने घर उनैको कमाइले चलेको थियो । मीनाको सोच थियो– परिवारको लागि ३ लाख भारु जम्मा पार्ने अनि बल्ल बिहेको कुरो सुनाउने तर त्यसो हुन पाएन । घरकी भान्छेले मीना र कमालको फोनवार्ता सुनिन् र अलि बख्सलाई सुनाइदिइन् । कुरो सुनेर अलि बख्स भयंकर रिसाए । उनले सवालमाथि सवाल उठाउन शुरु गरे तर मीनाले जवाफ फर्काइनन्, रोएर बसिन् । अलि बख्सले तलाक लिन दबाब दिए । 

उता, बिहेको कुरो कमालको परिवारले पनि थाहा पायो । उनकी दोश्री पत्नी मेहमुदीले छोराछोरीलाई लिएर घर छाड्ने धम्की दिइन् । कमाल एकदम दोधारमा परे । कापी, कलम उठाए र मीनाको नाउँमा पत्र लेखे– ‘हाम्रो बिहेलाई लिएर फेरि एकपटक ठण्डा दिमागले सोच्ने हो कि ?’ पत्र पढेर मीना ब्याकुल बनिन् र प्रत्युत्तरमा लेखिन्– ‘मलाई लाग्छ तपाईंंले मेरो भावना बुझ्न सक्नु भएन । सायद मैले पनि तपाईंंलाई चिन्न सकिन । राम्रो यही हुनेछ कि तपाईंं मलाई तलाक दिनुस् ।’ कमालले फेरि लेखे– ‘तिमी काजीकोमा गएर बिहे समाप्त गर्न सक्छौ ।’

मीना यो पत्रको जवाफ नदिइकन बसिन् । अब उनीहरूबीच फोनमा कुरो हुन छोडिसकेको थियो । मीना अब यो झमेलामा नफसी काममा व्यस्त हुन थालिन् । यसबीच, उनी अभिनित ‘बैजु बावरा’ रिलिज भयो । चारैतिर तारिफ शुरु भयो । बधाई दिनेमा चन्दन पनि थिए । 
 

टिप्पणीहरू