रामकृष्ण ढकाल पनि एलिना चौहानको लाइनमा

रामकृष्ण ढकाल पनि एलिना चौहानको लाइनमा

गायिका एलिना चौहानले शुरु गरेको ‘मिडिया एक्सपोज’ अभियानमा एकपछि अर्का कलाकारहरु जोडिन थालेका छन् । गायिका समीक्षा अधिकारीदेखि मोडल सञ्चिता शाही हुँदै यतिबेला गायक रामकृष्ण ढकालसमेत उक्त अभियानमा जोडिएका हुन् । 

ढकालले सामाजिक सञ्जालमा अभद्र र अश्लिल टिप्पणी गर्ने प्रयोगकर्ताको नाम र तस्वीर सार्वजनिक गरेका छन् । दुषित र अपराधिक मनोवृति भएका मानिसहरूले प्रविधि र मिडियाको चरम दोहन गर्दै कलाकारहहरूको व्यक्तिगत जीवनमाथि निरन्तर प्रहार गरिरहेको भन्दै उनले प्रयोगकर्ताको फेसबुक र टिकटक अकाउन्ट सार्वजनिक गरेकाे बताए । 

ढकालका अनुसार भन्न पाइयो, बोल्न पाइयो र लेख्न पाइयो भन्दैमा कसैको व्यक्तिगत जीवनमै धक्का पुग्ने गरी मानसिक पीडा दिन र दु:ख दिन कदापि पाइदैन । अत्ति भएपछि त्यस्ता प्रयोगकर्ताको नाम सार्वजनिक गर्नुपरेको उनले स्पष्ट पारे । 

‘अति भयो, सहनै सकिएन यो हदसम्मको अपमान ! सामाजिक सञ्जालमा नक्कली नाममा फेक आइडी बनाएर आफूलाई पानीमाथिको ओभानो बनाउँछु, मलाई भेटाउनै सक्दैनन् भन्ने भ्रम छ भने कृपया हटाई हाल्नुहोस्’, ढकालले भनेका छन्, ‘तपाईहरूजस्ता अपराधीलाई कठहरामा उभ्याउन र अपराध कर्मलाई जरैबाट उखेल्न नै साइबर ब्युरोको जन्म भएको हो, उहाँहरुले पानी मुनीबाट पनि खोजेर सार्वजनिक गर्नु नै हुनेछ ।’

कतिपय व्यक्तिले सात वटासम्म फेक अकाउन्ट बनाएर यातना दिएको पनि उनले जानकारी गराएका छन् । ‘यी यस्ता केही अपराधीहरू हुन् जसमध्ये केहीले ७ वटा भन्दा बढी फेक आइडी बनाई अत्याचार गरिरहेका थिए, केहीले त रियल आइडीबाटै यो अपराध गरिरहेका थिए ।  यिनीहरूमध्ये केही अहिले प्रहरीको हिरासतमा छन भने केही निगरानी र खोजीको सूचीमा छन्’, गायक ढकालले भने ।

टिप्पणीहरू