अदालतबाट दोषी ठहर भएका निर्माता भागेर अष्ट्रेलिया
नेपालमा अहिले पनि कलाकारितालाई त्यति सुरक्षित पेशा ठानिदैन । खासगरी चलचित्र क्षेत्रमा स्थापित हुन जति संघर्ष र साधना चाहिन्छ, भाग्यले पनि उत्तिकै साथ दिनुपर्छ । करोडौँ लगानी गरिएका चलचित्रले अपेक्षित व्यापार गर्न नसक्दा टाट पल्टिएका निर्माताहरु प्रशस्त छन् ।
चलचित्रमा करोडौँ रकम डुबाएका निमार्तामध्ये अचेल कोही विदेश पलायन भएका छन् त केही कुखुरा पालनमा लागेको देखिन्छ । एक पुराना निर्माता त घरै बेचेर भाडाको कोठामा बस्न बाध्य छन् ।
यसरी कुनै बेला गोजीमा करोडौँ रकम बोकेर चलचित्र क्षेत्रमा प्रवेश गरेका तर लगानीसमेत उठाउन नसकेर पुनः चलचित्रबाट बाहिरिएका निमार्ताको सूची बनाउने हो भने लामै हुन्छ । र, यतिबेला निर्माता सुभाष थापा त्यही सूचीमा थपिएका छन् ।
०८० बैशाख दोस्रो साता कमलपोखरीको विग भूमिजमा तामझामसहित प्रिमियर गरिएको चलचित्र ‘प्रसाद २’ का निर्माता हुन्, उनी । थापालाई काठमाडौँ जिल्ला अदालतले चेक बाउन्सको मुद्धामा दोषी ठहर गरेको छ ।
बताइएअनुसार चलचित्र निर्माण हुनुअघि थापाले केशव पाण्डेलाई ‘निर्माता बनाउँछु’ भन्दै ६२ लाख ५० हजार लिएका थिए । तर चलचित्रको छायाँकन सकिएर सम्पादन हुँदै गर्दा पाण्डेकाे नाम निर्माताको सूचीमा परेन । उनले आफ्नो पैसा फिर्ता माग्दा थापाले सोही बराबरको चेक पनि दिए ।
तर, एक वर्षसम्म चेक नसाटिएपछि पाण्डेले गत वर्ष अदालतमा थापाविरुद्ध चेक बाउन्सको मुद्धा हालेका हुन् । त्यही मुद्धामा सोमबार काठमाडाैँ जिल्ला अदालतले फैसला सुनाउँदै उनलाई दोषी ठहर गरेको हो ।
अदालतको फैसलामा थापालाई सोही रकम बराबरको विगो भराउने, त्यसको पाँच प्रतिशत जरिवाना गराउने र १५ दिन कैद सजाय हुने भनिएको छ । तर, उनी अहिले वेपत्ता छन् ।
आखिर थापा कहाँ गए त ? चलचित्र वृतमा चासोको विषयमा बनिरहँदा उनी अष्ट्रेलिया पुगेको बुझिएको छ । स्रोतका अनुसार उनी भारतको मुम्बई हुँदै अष्ट्रेलिया पुगेका हुन् ।
‘गत वर्ष जाहेरी परेपछि उनले प्रहरीले खोजी गरेको सूचना पाएका थिए, त्यसपछि देश नै छाड्ने निर्णय गरे’, स्रोत भन्छ, ‘नेपालबाट अष्ट्रेलियाको प्रक्रिया चाल्दा समातिने बढी सम्भावना थियो, त्यसैले उनी अदालतको फैसला आउनुअघि गायब भए ।’
अष्ट्रेलियामा थापाको आफन्त रहेको र उनीहरुकै सहयोगमा त्यहाँ पुगेको बताइन्छ । स्मरण रहोस्, ‘प्रसाद’को पहिलो सिक्वेल हिट भएपछि थापाले दोस्रो सिक्वेलमा लगानी गर्न तम्सिएका थिए ।
विपिन कार्की, केकी अधिकारी, अर्पण थापा लगायतको अभिनय रहेको उक्त चलचित्रलाई दर्शकले भने खासै रुचाएनन् । प्रदर्शन भएको एक हप्तामै हलहरुले चलचित्रलाई पर्दाबाट उतारेका थिए । उक्त चलचित्रको निर्माणमा संलग्न कतिपय प्राविधिकहरुले अझै पारिश्रमिक समेत नपाएको पनि बुझिएको छ ।
टिप्पणीहरू