ठुल्ठूला नेता मराउनमा पत्रकार र युवती दोषी ठहर

ठुल्ठूला नेता मराउनमा पत्रकार र युवती दोषी ठहर

यस वर्षको जुन १३, बिहान साढे ६ बजे अकस्मात् २ सय वटा इजरायली लडाकू विमान इरानी आकाशमा प्रवेश गरे । विभिन्न इरानी आणविक भण्डारलगायत सय वटा भौतिक पूर्वाधारमा ३ सय ३० वटा बम खसाले र सकुशल स्वदेश फर्किए । लगातार इरानले आणविक बम बनाइरहेको रट लगाउँदै आएको इजरायलले कुनै दिन सैन्य आक्रमण गर्छ भन्ने आकलन तेहरान सरकारलाई थियो तर आक्रमण यति छिटो होला भन्ने अनुमानचाहिँ थिएन । 

मध्याह्न फेरि इजरायली लडाकू विमानले उत्तर–पश्चिमस्थित इरानी हमादान हवाई अड्डा र फोर्डो तेल प्रशोधन केन्द्रमा आक्रमण गरे । यो आक्रमणपश्चात् इरानले अब ठूलो क्षति ब्यहोर्न तयार हुनु भनेर इजरायललाई धम्क्यायो । नभन्दै दिउँसोको ३ बजे मुख्यमुख्य शहरमा खतराको घण्टी बज्यो र इजरायली सरकारले जनतालाई बंकरमा लुक्न जान आदेश दियो ।

इरानले बेलुकी ९ बजे इजरायलको राजधानी तेल अभिभमा एकैचोटि सयौं ड्रोन र दर्जनौं क्षेप्यास्त्र हान्यो । इरानलाई इजरायली हवाई प्रतिरक्षा प्रणाली र आइरन डोमको सामना गर्न गाह्रो थियो, त्यसैले उसले पहिलो लटमा सयौं नक्कली ड्रोन प्रहार ग¥यो । इजरायली प्रतिरक्षा प्रणाली ती ड्रोनलाई हावामै क्षतिग्रस्त गर्न ब्यस्त रहँदा इरानले दोस्रो लटमा सक्कली ड्रोन र क्षेप्यास्त्र हानेको हान्यै गर्‍यो । उसले यति धेरै ड्रोन र क्षेप्यास्त्र प्रहार ग¥यो कि इजरायली सबैलाई रोक्न अक्षम बन्यो । र, इतिहासमै पहिलो पटक आफ्नै भूमिमा क्षति ब्यहोर्‍यो । स्मरणीय छ, सन् १९४८ मा इजरायलको स्थापना भएपश्चात् उसले छिमेकी मुलुकसँग दर्जनौं युद्ध लडिसकेको छ तर कसैले पनि इजरायली भूमिमै आक्रमणको प्रयास गरेकै थिएन ।

यसपटक ११ दिनको युद्धमा उसले तेल अभिभ, हाइफा, हर्जलिया, रोहोभोट, वीरसेभालगायत शहरमा क्षति ब्यहोर्नुपर्‍यो । यो युद्धमा इजरायलले मुख्यतः लडाकू विमान प्रयोग गर्‍यो भने इरानले ड्रोन र क्षेप्यास्त्र । मानवीय क्षति इजरायलभन्दा इरानको धेरै भयो, यसो हुनुको एउटा कारण जनसंख्या पनि हो किनभने इजरायलको कूल जनसंख्या भन्दा धेरै मानिस इरानको राजधानी तेहरानमा बस्छन् । हुन त, २३ जुनमै युद्धविराम भएको भनिए पनि छिटपुट आक्रमण जारी छ । यस पटकको युद्धमा एउटा खास विशेषता के देखियो भने इजरायल इरानी शीर्षस्थ सैन्य नेता, हतियार वैज्ञानिक तथा गुप्तचर अधिकृतलाई मार्नमै केन्द्रित भयो भनी इरानचाहिँ इजरायलको भौतिक संरचना, सैन्य अड्डा, हतियार भण्डार ध्वस्त गर्नतर्फ तल्लीन देखियो । इरानका सेना प्रमुख मोहम्मद बाघेरी, इस्लामिक रिभोल्युशनरी गार्ड प्रमुख हुसेन सलामी, हवाइसेना प्रमुख अमिर अलि हजिजादेह, सैन्य गुप्तचर उपप्रमुख घोलामरेजा मेहराबीलगायत २३ जना सैन्य तथा गुप्तचर नेता सइद बोर्जीलगायत ८ जना न्युक्लियर वैज्ञानिकलाई मार्न इजरायल सफल भयो ।

युद्धपश्चात् इरानले आफ्ना उच्च अधिकृतहरूलाई छानिछानी मार्न इजरायल कसरी सफल भयो भनेर खोजीनीति शुरु गरेको छ । विश्वमा अमेरिकाको सिआइए, सोभियत संघको केजिबीभन्दा पनि खतरनाक गुप्तचर संस्था इजरायलको मोसाद हो भन्नेमा कुनै शंका छैन । यसले बेलाबखत विश्वमा ठुल्ठूला करामत देखाइसकेको छ । इरानमै दशकौँदेखि मोसादका एजेण्ट सक्रिय रहेको प्रमाण फेला परिसकेको छ र इरान सरकारले स्वदेशी हुन् वा विदेशी पक्राउ परेका त्यस्ता एजेण्टलाई मृत्युदण्डसमेत दिइसकेको छ । मोसादका एजेण्ट खोज्ने क्रममै इरानले एउटी युवतीलाई विशेष निशाना बनाएको छ । ती हुन् फ्रान्समा जन्मेकी र पछि इरानलाई कर्मभूमि बनाउँदै आइरहेकी जासुस क्याथरिन पेरेज सक्डाम ।

सक्डाम यहुदी फ्रान्सको पेरिसमा जन्मिएकी हुन् । उनका आमा र बाबुतर्फका दुवै बाजेले हिटलरको शासनविरुद्ध लडेका थिए । सक्डामले मनोविज्ञानमा स्नातक अनि अर्थशास्त्र र सञ्चारमा स्नातकोत्तर गरेकी छन् । लण्डनमा पढ्दै गर्दा उनको यमनी केटोसित प्रेम भयो र बिहे गरिन् । बिहेपछि धर्म परिवर्तन गरी सुन्नी मुसलमान बनिन् । दुई सन्तान भए । पढाइ सकेर पत्रकारिता थालिन् । दि मजल्ला, तेहरान टाइम्स, यमन पोष्ट, हफपोष्ट, द गार्जियनलगायत एक दर्जन सञ्चारमाध्यमसित जोडिइन् । पत्रकारिताकै सिलसिलामा इरान गइरहन्थिन् र त्यहाँका दक्षिणपन्थीहरूको पत्रिका तास्मिन न्युज, मेहर न्युज, मासरेघ न्युजजस्ता सञ्चारमाध्यममा लेख्ने गर्थिन् । हुँदाहुँदा त्यहाँका सर्वोच्च नेता अलि हुसेन खामेनीको आधिकारिक वेबसाइट खामेनी डट आइआरको लागि समेत काम गर्न थालिन् । यसबीच, सन् २०२१ को नोभेम्बरमा इजरायली ब्लग दि टाइम्स अफ इजरायल’ मा लेखिन्, ‘मेरो लोग्नेसित सम्बन्धविच्छेद भइसकेको छ, अब म मुस्लिम रहिन, म मुस्लिम बनेको इरानजस्ता कट्टरपन्थी मुस्लिम मुलुकमा प्रवेश पाउने उद्देश्यले मात्र हो ।’

सक्डाम पहिलोपल्ट सन् २०१७ मा तेहरान पुगेकी थिइन् । इरानीहरूको मन जित्न सुन्नीबाट सिया बनिन् । इस्लाम धर्मबारे जान्न उत्सुक विद्यार्थी, पत्रकारको रूपमा आफूलाई चिनाइन् । शुरुमा धार्मिक नेताकी श्रीमती र उनीहरूका जवान पुत्रीहरूसित मित्रता गाँसिन् र उनीहरूमार्फत लोग्नेहरूसित । विस्तारै सबै उच्चकोटिका नेता, सैन्य अधिकृत र आणविक बम बनाउन लागिपरेका वैज्ञानिकहरूकोसित हेलमेल बढाइन् । यसक्रममा पछि इरानको राष्ट्रपति बनेका इब्राहिम रइसीलाई भेटिन् । संगै रास्त नगर घुमिन् र रइसीको अन्तर्वार्ता पनि लिइन् । त्यसबेला आफ्नो ब्लगमा लेखिन् – फ्रान्सिसी नागरिकता र मुस्लिम केटोसित बिहे गरेको कारण मलाई इरानका उच्चपदस्थ नेताले पत्याएका छन् ।

यसबीच, फेब्रुअरी २०२२ मा पूर्व इरानी राष्ट्रपति महमुद अहमदिनेजादलाई समर्थन गर्ने एउटा टेलिग्राम च्यानलले लेख्यो –इरानी सरकारको उच्चपदस्थ नेताभित्र इजरायली जासुसले ब्यापक घुसपैठ गरिसकेका छन् । यसको लगत्तै सक्डामसँग सहकार्य गर्दै आइरहेका इरानी सञ्चारमाध्यमले प्रकाशित उनका लेखसमेत पेजबाट बल्ल हटाउन शुरु गरे, उनीसितको सहकार्य बन्द गरे । अर्थात् यसपछि बल्ल इरानी अधिकारी र सञ्चारमाध्यमले उनलाई शंकाको घेरामा राख्न थाले । जब पछिल्लो युद्धमा इजरायलले छानिछानी इरानका उच्चपदस्थ ब्यक्तिलाई मार्न सफल भयो, तब बल्ल उनी इजरायली जासुस नै भएको इरानले ठहर्‍यायो, किनभने पत्रकारिता गर्ने नाउँमा उनले इरानका प्रायः सबै ठूला नेतासम्म पहुँच पुर्‍याइसकेकी थिइन् । उनलाई को कता बस्छन् सबै थाहा थियो । उनैको सूचनाका आधारमा इजरायलले सूची नै बनाएर ज्यान लिने गरी आक्रमण गरेको हो भन्ने इरानको ठहर छ ।

इजरायलले पनि लेबनानमा हिज्बुल्लाहसित लड्न युवती जासुस प्रयोग गरेको स्विकारिसकेको छ । मोसाडभित्र लेडी ब्रिगेडको छुट्टै इकाइ हुन्छ, युवतीहरू शत्रु देशमा घुसपैठ गरी सूचना संकलन गर्छन् । सूचना पाउन जोसंग पनि मित्रता, हँसिमजाक, यौन उत्पीडन सहन्छन् । आवश्यक परे माथिल्लो तहका नेता तथा सैन्य अधिकृतहरूसंग सुत्न पनि हिच्किचाउँदैनन् । सक्डामले पनि इरानमा त्यही गरेको अनुमान छ । उनी इजरायली हमलामा मारिएका अणुबम वैज्ञानिकको सुत्ने कोठासम्म पुगेको अनुमान लगाइँदै छ । युद्ध शुरु हुनेबित्तिकै इरानी नेताले सेल्टर एक ठाउँबाट अर्को ठाउँमा सारिरहे तर पनि इजरायली हमला एउटा पनि चुकेन । यसको अर्थ उनीहरू सबैको एकएक सूचना इजरायलले पाएको रहेछ । इरानी सरकार इजरायली हमलाबाट चकित थियो, त्यसैले छानबिन शुरु भयो । दौरान सक्डाम शंकाको घेरामा परिन् । उनको खोजी शुरु भयो, देशभरि पोष्टर टाँसियो तर उनी लण्डन पुगिसकेकी थिइन्, जहाँ उनका दुई सन्तान थिए । 

हुन त सक्डाम मात्र होइन दर्जनौं इरानीलाई मोसादले प्रयोग गरेको प्रमाण इरानले फेला पारिसकेको छ । इरानको कुद्स फोरका कमाण्डर इस्माइल कानीले समेत मोसादको लागि काम गरिरहेको भनेर छानबिन हुँदै छ । उनीहरूमध्ये कतिले सजायँ पाइसकेका छन् भने अरूमाथि अनुसन्धान हुँदैछ । अहिले इरानीहरू एउटा कलम र एउटा मुस्कानले सयौं इरानीको ज्यान लिएको भन्दैछन्, अर्थात् त्यो कलम भनेको सक्डाम हुन् । अचम्मको कुरो के भने इरानी उच्च धार्मिक नेता, सैन्य नेता र आणविक वैज्ञानिकलाई भेट्न मोबाइल बोकेर जान नपाउने कडा नियम छ तर सक्डामले बडो सतर्कतासाथ नेताको घर, ठेगाना र यहाँसम्म कि शयनकक्षको समेत फोटा र भिडियो क्लिप इजरायललाई पठाउन सफल भएको इरानको आरोप छ । यद्यपि, इजरायलले आधिकारिक रूपमा सक्डामबारे बोलेको छैन, सक्डाम आफैँले पनि आफू जासुस नभएको बयान दिइरहेकी छन् । 
 

टिप्पणीहरू