सुन तस्करीमा मुछिएका यी मारवाडी कहाँ लुके ?
बहुचर्चित ६० किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्तसहित दर्जनौं जेलमा छन् । तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङलगायत जेलमा रहँदा केही भने अझै फरार छन् । घटनाको दुई वर्ष बितिसक्दा पनि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनीहरूलाई फेला पार्न सकेको छैन । तिनैमध्येका हुन्– राकेशकुमार अडुकिया । काठमाडौंबासी मारवाडी राकेश सुनकाण्डमा संलग्न रहेको बलियो प्रमाण भेटेपनि राजश्व अनुसन्धान विभाग र सिआइबीले समात्न सकेको छैन ।
विवादित छविका व्यवसायी उनी २०३२ साउन २४ गते काठमाडौंमा जन्मिएको भए पनि भारतीय नागरिक हुन् । कीर्तिपुर नगरपालिका–६, चोभारस्थित मोडर्न इण्डियन स्कूलमा पढेका उनी नक्सालमा बसोबास गर्दै आएका थिए । चार दाजुभाइमध्ये साहिँला राकेशकुमार तीन घुम्ती नेपाली चलचित्रको उत्पादकसमेत हुन् । जेड ५०९७७३९ नम्बरको पासपोर्ट बोक्छन् ।
सो पासपोर्ट हङकङस्थित भारतीय दूतावासबाट सन् २०१८ जुलाई १० मा जारी भएको हो । जसको म्याद २०२८ जुलाई ९ सम्म रहेको छ । रोचक प्रसंग के भने, उनले पहिलो पासपोर्टको अवधि बाँकी रहँदै दोस्रो पासपोर्ट बनाएका छन् । सन् २०१० जुलाई ३ मा जेड२०पी९८१३ नम्बरको राहदानी लिएकोमा त्यसको समयावधि २०२० जुलाई ४ सम्म थियो ।
बैंकदेखि विभिन्न व्यवसायमा लगानी गरेका उनको पारिवारिक लगानीमा हङकङमा ‘रोयल सिल्भर हङकङ लिमिटेड’ नामक कम्पनी छ । सोही फर्ममार्फत ठूलो परिमाणमा चाँदी आयात गर्थें । दानादार चाँदीमा ४० प्रतिशत सुन मिसाएर नेपाल भिœयाइन्थ्यो । राष्ट्र बैंकका तत्कालीन वरिष्ठ अधिकृत वासु अधिकारीले सहयोग पुर्याउँदै आएका थिए ।
सुन र चाँदी मिसाएर आयात गर्ने राकेशले सुन छुट्याएर भारतीय बजारमा बिक्री गर्थें । भारतमा उनको साझेदार ऋषि तुल्स्याङ थिए । रविभवनस्थित सोल्टी सिटी अपार्टमेण्टमा बसोबास गर्दै आएका राकेश र ऋषिबीच सम्बन्धमा पछिल्लो समय खटपट आएको थियो । कारण हो–आर्थिक लेनदेन ।
राकेशले हिसाबकिताबमा गडबड गरेपछि उनीहरूबीच विवाद बढेको स्रोतको जिकिर छ । राकेश गोरखा विकास बैंकको सञ्चालक समितिमा पनि थिए । सो बैंकमा उनको ठूलो परिमाणमा शेयर थियो । तर, भारतीय नागरिक रहेकाले सञ्चालक समितिको अध्यक्ष भने बन्न पाएनन् । बैंकमा ठूलो लगानीकर्ता रहेकैले लगानीकर्तामध्येकै एक महेश रिजाललाई सञ्चालक समितिको सदस्य नियुक्त गरे ।
आफ्नो अनुकूल काम गर्नका लागि राकेशले महेशलाई ल्याएकोमा पछि सो बैंक डुब्यो । जसका कारण राष्ट्र बैंकले उनको खाता रोक्का गरेको छ । नेपालको शेयर बजारमा उनको ११ अर्ब रूपैयाँ बराबर लगानी छ । स्रोतका अनुसार राकेशले महेशमार्फत नेपाली नागरिकता जम्मा गर्दथे । सो नागरिकताको दुरूपयोग गरेर नक्कली शेयरधनी खडा गरी शेयर प्रमाणपत्र बेच्थे । उनको सामान ओसारपसारको जिम्मा पनि महेशले पाएका थिए ।
जोगिनका लागि अनेक उपाय
सुन तस्करी गर्ने राकेश अधिकांश समय विदेश यात्रामै व्यस्त हुन्थें । राकेशको उडान हिस्ट्री एकदमै शंकास्पद देखिन्छ । ६ वर्षमा पहिलो राहदानी प्रयोग गरेर २८३ पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत गरेका छन्् । अध्यागमन विभागबाट प्राप्त तथ्याङ्कअनुसार उनले २०१७ अप्रिल ५ देखि २०२३ जुलाई ५ सम्म त्यतिपटक यात्रा गरेका हुन् । १४२ पटक बाहिरिँदा १४१ पटक भित्रिएको देखिन्छ ।
दोस्रो राहदानीबाट ३६ पटक यात्रा गरेको पाइएको छ । सो यात्रा विवरण सन् २०२१ जनवरी ८ देखि सन् २०२३ जुलाई ५ सम्मको हो । १५ पटक दुबई, १३ पटक हङकङ, चार पटक दिल्ली, दुई पटक बेलायत र दुई पटक बैंकक पुगेका छन्् । त्यसैगरी, आठ पटक सीधा नेपाल–हङकङ उडान गरेको देखिन्छ ।
आश्चर्यलाग्दो कुरा के भने, नेपाल–हङकङको सीधा उडान हुँदाहुँदै उनले पटकपटक घुमाउरो रुटबाट यात्रा गरेका छन् । पाँच पटक घुमाउरो बाटोबाट हङकङ पुगेका छन् । न्यूनतम तीनदेखि अधिकतम ६ दिन हङकङमा बस्ने गरेको पाइएको छ । त्यसैगरी, दिल्लीमा बढीमा १० दिन र दुबईमा ५२ दिनसम्म बिताएका छन् । उनले हङकङबाट नेपाल आउँदा प्रायः चिनियाँँ विमानस्थललाई ट्राञ्जिट बनाउने गरेको देखिन्छ ।
चीनको तियानफुबाट एअर चाइना र सिचुवान एअरको विमानमा काठमाडौं आउँथे । कहिलेकाँही गोन्जाओ ट्राञ्जिट हुन्थ्यो । यसले समयसँगै खर्च पनि दोब्बर लाग्छ । आफूमाथि कसैलाई शंका नलागोस् भनेर सो उपाय अपनाएको हुनसक्ने अध्यागमनका एक अधिकारी बताउँछन् ।
यसरी परे फन्दामा
२०८० साउनमा राजश्व अनुसन्धान विभागको टोलीले मोटरसाइकल र स्कुटरको ‘ब्रेक–शु’ भित्र लुकाएर ल्याएको सुन बरामद ग¥यो । सो सामान नेपाल एअरलाइन्सको वाइडबडी ३२० को उडान नम्बर आरए ४१० बाट असार २९ गते नेपाल आएको अध्यागमनको रेकर्ड छ । उक्त सामानलाई असार ३० गते त्रिअवि भन्सार कार्गोमा प्रवेश गराइएको थियो । असार ३१ गते ३३ कार्टुनमध्ये १५ कार्टुन दोलखा इन्टरप्राइजेजले छुटाएर लग्यो । साउन १ गते १० वटा रेड्री ट्रेडर्सले लग्यो भने आठ वटा प्रहरीले गन्तव्यतर्फ लैजाने क्रममा नियन्त्रणमा लिएको हो ।
छानबिनका क्रममा भन्सार एजेण्ट खोटाङका दिनेश राई, परिवर्तन राई, हर्कराज राई, राजेन्द्रकुमार राईलगायतको संलग्नता खुलेको थियो । उनीहरूले सो सामान छुटाउन सहयोग गरेका थिए । परिवर्तनले सिंगापुरको एक कम्पनीमा कार्गो गोदाम व्यवस्थापनका लागि टेण्डर हालेका थिए । उनी अडुकियाको विश्वासिलो पात्र हुन् । चोरी निकासी पैठारीमा संलग्न रहेको आशंकामा निलम्बनमा परेका भन्सार अधिकृत सन्तोष चन्द, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायव महानिरीक्षक अर्जुनचन्द ठकुरी र कार्गो कम्प्लेक्सबाट पक्राउ परेका भन्सार एजेण्ट पुष्करराज भट्ट बैतडीका हुन् ।
हङकङबाट उक्त सामान नेपाल ल्याउँदा त्रिअवि भन्सार कार्यालयका मुख्य भन्सार अधिकृत अरूण पोखरेल बिदामा थिए । विगतमा भन्सार कार्यालयमा सादा पोशाकमा प्रहरी खटाउने गरिएकोमा सो दिन उनीहरू थिएनन् । जुनियर तहका अधिकृत मात्र ड्युटीमा परिचालन भएका थिए । त्यसको ९ दिनअगाडि मात्र राकेश हङकङबाट नेपाल फर्किए । केही दिनमै सुन समातिनु, दोलखा इन्टरप्राइजेज र रेड्री ट्रेडका सञ्चालक दिलिप भुजेलले राकेशको हुलिया सुन तस्करसँग मिलेको भनी बयान दिनुले नै उनको संलग्नता छर्लङ्ग पार्छ ।
परिवार नै सुन तस्करीमा
राकेशकी श्रीमती, छोरा–छोरी, दाजुभाइ सबै सुन तस्करीमा संलग्न देखिन्छ । छोरा रोहनलाई प्रहरीले सुनकाण्डमै पक्राउ गरेको थियो । तर, उनको संलग्नता नभेटिएको भन्दै छोडियो । २०५८ चैत ९ गते जन्मिएका रोहनले ब्रिटिश स्कूलबाट कक्षा १२ सकेका छन् । उनले बेलायतस्थित भारतीय दूतावासबाट पासपोर्ट लिएको पाइएको छ ।
जेड ६३९६४२१ राहदानी वाहक उनको यात्रा पनि निकै शंकास्पद छ । सन् २०२२ मार्च २२ मा जारी भएको पासपोर्टबाट २५ पटक विदेश यात्रा गरेका छन् । सन् २०२२ सेप्टेम्बर २३ देखि २०२३ जुलाई २१ सम्म अर्थात ३०० दिनको अवधिमा भएको उक्त यात्रालाई सामान्य मान्न नसकिने अध्यागमन अधिकृतहरू बताउँछन् ।
छोरी राधिका जेड ५४०३२८३ राहदानी वाहक हुन् । हङकङस्थित भारतीय दूतावासबाट जारी राहदानीबाट उनी पटकपटक विदेश पुगेकी छन् । उनका दाइ दीपककुमारको पनि हङकङकै राहदानी छ । सन् १९७८ डिसेम्बर २८ मा जन्मिएका उनले हङकङमा व्यवसाय गर्दै आएका छन् । एचजे २१७७९६८ नम्बरको राहदानी बोक्ने उनले पनि सुन तस्करीकै धन्दा चलाउने गरेको पाइएको छ । दीपककी श्रीमती रितासँग भने चिनियाँँ राहदानी पनि छ ।
यता, अर्का भाइ मुकेशकुमार पनि हङकङमै बस्छन् । सुन पसल सञ्चालन गर्ने उनले नेपाल आउने यात्रुहरूलाई गहना बनाएर पठाउने गरेका छन् । एचजे २०६४१५६ नम्बरको राहदानी वाहक उनकी श्रीमती पुनम चिनियाँँ राहदानी बोक्छिन् । दुईटा भाइ सोमेसकुमार र साहिलकुमारले दुबईमा सुन व्यवसाय गर्दै आएका छन् ।
सिद्धार्थ बैंकमा हङकङबाट आउने चाँदीमा सुन मिसाएर ल्याउने र उक्त सुनलाई गालेर बेच्ने उनीहरूको मूल धन्दा हो । दुबईस्थित इमिरेट्स गोल्ड पसलबाट भरियामार्फत नेपालमा सुन तस्करी गरिन्छ । पारिवारिक भेटघाटको आवरणमा राकेशले सुन तस्करी गर्दै आएका थिए । राकेशकी श्रीमती रुचि जाजोदियाको नाममा नेपाल रेमिट्यान्स प्रालि, मुलुकमा रहेको टेस्ला गाडीको आधिकारिक शोरुम, लक्ष्मी बैंकमा शेयरलगायत थुप्रै सम्पत्ति छ ।
त्रिपुरेश्वरस्थित कृषि प्रेमुरा प्रोपर्टिज प्रालिमा पनि उनको लगानी छ । तर, कम्पनी भने पुनम खेतानका नाममा रहेको छ । खेतान र जाजोडिया एउटै जाति हुन् । यता, महाराजगञ्जमा रहेको एब्सोल्युट इन्टरप्राईजेजमा पनि उनको लगानी रहेको बुझिएको छ । सो कम्पनीले घरहरूमा ईन्टेरियर डिजाइनको काम गर्दै आएको छ । विभागका तत्कालीन महानिर्देशक नवराज ढुंगानाले अनुसन्धानको जिम्मा सिआइबीलाई सुम्पिसकेको बताए । जनआस्थासँग भने, ‘मलाई ठ्याक्कै याद छैन । हामीले फाइल नै सिआइबीको जिम्मा लगाइसकेका छौं ।’ यता, सिआइबीले सो विषयमा अनुसन्धान सकिसकेको बताएको छ । तर, पहुँचको आधारमा विगतदेखि नै सुन तस्करी गर्दै आएका राकेश भने अझै बेपत्ता छन् ।
यी व्यवसायी सुन तस्करीमा संलग्न
नेपालमा विगतदेखि नै सुन तस्करी हुँदै आएको छ । पहिले सानो परिमाणमा सुन तस्करी गर्ने गरिएकोमा पछिल्लो समय नयाँ–नयाँ विधि अप्नाएर सुन भित्र्याउन थालिएको छ । ३३ किलो सुन तस्करी प्रकरणमा चुडामणि उप्रेती उर्फ गोरे गोलघरमा छन् । किसन अग्रवाल, राजेन्द्र शाक्य, महावीरप्रसाद गोल्यान, विमल पोद्दार, राजकुमार दारुका, सञ्जय खेतान, मुरारीलाल गोयल, बालकृष्ण अग्रवाल, सत्यनारायण सोनी, विनोदकुमार सोनी, सुमन अग्रवाललगायतको नाम सुन तस्करीमा मुछिन थालेको छ । उनीहरूले चिनियाँँ नागरिकलाई एजेण्ट राखेर नेपालको बाटो हुँदै भारततर्फ सुन पठाउने गरेको रिपोर्ट छ । गोयलको दरबारमार्गमा सुन पसल थियो भने शाक्यको न्युरोडमा छ ।
टिप्पणीहरू