सरकारलाई दबाब दिन रास्वपाले अभियान चलाउने

सरकारलाई दबाब दिन रास्वपाले अभियान चलाउने

विदेशमा रहेका नेपालीलाई भोटिङ अधिकार दिलाउन रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अभियान चलाउने भएको छ । 

सो पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले विदेशमा बस्ने नेपालीका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । गत आम निर्वाचनमा ११ लाख समानुपातिक भोटसहित २१ सिट जितेर एकाएक राष्ट्रिय राजनीतिमा उदाएको रास्वपाका अधिकांश समर्थक विदेशमा रहेको विश्वास गरिन्छ ।  

सभापति रविमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै उनलाई छुटाउन राज्यलाई दबाब दिने रणनीतिअन्तर्गत चलाएको हस्ताक्षर र सहयोग संकलन अभियानलाई थप व्यापक बनाउने निर्णय पनि गरेको छ । अभियानलाई देशव्यापी रुपमा प्रभावकारी बनाउन संगठन निर्माणका हरेक गतिविधि सँगसँगै जोडेर लैजाने बैठकको निर्णय प्रवक्ता मनिष झाले सुनाएका छन् ।

त्यसैगरी पार्टीका संस्थापक केन्द्रीय सदस्य इश्रामुल्ला मियालाई आजैबाट पुन:उक्त जिम्मेवारीमा फर्काइएको छ । रवि लामिछाने गृहमन्त्री भएका बेला हज कमिटीको अध्यक्ष बनेका उनले केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । त्यसपछि अहिलेसम्म औपचारिक रुपमा उनलाई पार्टीमा भित्र्याईएको थिएन ।  

रास्वपाले विभिन्न विभाग तथा समितिमा सदस्य मनोनयन पनि गरेको छ । जसअनुसार श्रम तथा उपभोक्ता हित विभागमा काठमाडौँका श्यामबाबु गौतम, श्रम तथा उपभोक्ता हित विभागमा नवलपुरका ललित श्रेष्ठ र सार्वजनिक लेखा समीक्षा विभागमा नवलपुरकै गोकुल सापकोटा प्रमुख तोकिएका छन् ।

मधेस प्रदेश समितिको सहमहामन्त्रीमा गणेश धिमाल (बारा) र पुनम साह (सिराहा)लाई अघि सारिएको छ । 

पार्टीले गर्नुपर्ने रणनीतिक कार्यहरू सम्पादन गर्नका लागि 'रणनीतिक समूह' हरू गठन गर्ने र  वडादेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म संगठन सशक्त बनाउने निर्णय पनि छ । त्यसनिम्ति आवश्यक सबलीकरणका लागि केन्द्रीय कमिटी र विभागका सबै सदस्यलाई जिल्लामा परिचालन गरिने प्रवक्ता झाले जानकारी दिए ।

टिप्पणीहरू