‘चिप्ल्याउने अंकल’ जब आफै चिप्लिए

‘चिप्ल्याउने अंकल’ जब आफै चिप्लिए

टिभी कार्यक्रम ‘रजतपट’ का प्रस्तोता हुन्, प्रकाश सुवेदी । झण्डै तीन दशकभन्दा लामो समय चलचित्र पत्रकारितामा बिताएका र अहिले पनि उत्तिकै सक्रिय रहेका उनलाई कन्ट्रोभर्सी उत्पादक पनि भनिन्छ । रजतपटबाट कयाैँ कलाकारहरु कन्ट्रोभर्सीमा परेको उदाहरण प्रसस्तै छ । 

सुवेदीले कार्यक्रममा राखेका विभिन्न सेगमेन्टले कलाकारलाई विवादमा ल्याउने गरेको पाइन्छ । उनले सोध्ने ‘कसलाई चिन्नुहुन्छ ? कुन रुपम चिन्नुहुन्छ ?’ लगायतका प्रश्नको सामना गर्न असहज मानेर कयौँ कलाकारले कार्यक्रममा जान नचाहने गरेको  अवस्था पनि छ । 

यसैबीच ‘चिप्ल्याउने अंकल’ भनेर चिनिएका उनै सुवेदी यतिबेला आफै चिप्लिएका छन् । लोक-पप गायक दिपक बज्राचार्यसँगको अन्तर्वार्तामा उनले झलकमान गन्धर्वलाई चिन्न नसकेपछि समाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । 

गायक बज्राचार्यले दुई तस्वीर देखाउँदै सोध्छन्, ‘चिन्नुहुन्छ ?’

तस्वीरमा देखाइएका एकजना गायक सुजन चापागाईलाई ठम्याए पनि अर्का व्यक्तिलाई सुवेदीले चिन्दैनन् । जबकि, बज्राचार्यले गितार नै उठाएर उनको गीत सुनाएको देखिन्छ । गीत सुन्दासमेत नाम भन्न नसकेपछि बज्राचार्य आफैँले भन्दिन्छन्, ‘झलकमान गन्धर्व ।’

मनोरञ्जनसम्बन्धी कार्यक्रममा असन्दार्भिक प्रश्न गरेर कयौँ कलाकारलाई विवादमा तानेका सुवेदीले आफै झलकमान गन्धर्वलाई चिन्न नसकेपछि उनको आलोचना भएको हो । 

सामाजिक सञ्जाल प्रयोगकर्ता विनोद चापागाईले लेखेका छन्, ‘कहिलेकाहिँ आफूले बनाएको औषधिले आफैँलाई हानी गर्छ भनेको यही हो !’

तुलसा घिमिरेले पनि ‘अब त थाहा भयो होला नि !’ भन्दै कटाक्ष गरेकी छन् । ‘सबै मानिस सधैँ एउटै मनस्थितिमा हुँदैन, कहिलेकाहीँ जानेको कुरा पनि अभिव्यक्त गर्न सकिदैन वा दिएको जवाफ गलत हुनपुग्छ’, उनको प्रतिक्रिया छ, ‘तपाईले लोकप्रिय गायक झलकमान गन्धर्वलाई पनि चिन्न सक्नुभएन, यसलाई हामीले तपाईको अज्ञानता भन्ने कि नभन्ने ?’

 

टिप्पणीहरू