ब्राण्ड चोर्नेलाई त्यसै नछोड्ने चेतावनी

ब्राण्ड चोर्नेलाई त्यसै नछोड्ने चेतावनी

अरुको ट्रेडमार्क र ब्राण्ड चोरेर वस्तु तथा सेवा बेचबिखन नगर्न काठमाडौं महानगरपालिकाले सम्बन्धितलाई सचेत गराएको छ । 

महानगर क्षेत्रभित्र त्यस्ता गतिविधि बढेको गुनासोपछि महानगरले सार्वजनिक सूचना निकालेर सतर्क गराएको हो । जुत्ता, लत्ताकपडा तथा दैनिक आवश्यकताका वस्तु तथा सामान बिक्रीका लागि ब्राण्डको दुरुपयोग गरेर झुटो विज्ञापन हुने गरेको गुनासो बढिरहेको महानगरको जनाएको छ । 

महानगरका अनुसार विदेशी उत्पादन भन्दै घरेलु उत्पादन बेच्ने, अरुको ट्रेडमार्क र ब्राण्ड नक्कल गर्ने, म्याद सकिएको, अयोग्य र स्वास्थ्यमा असर पार्ने सामग्री बेच्ने र झुटो विज्ञापन गरेर उपभोक्तालाई भ्रममा पार्नेजस्ता क्रियाकलाप बढेको छ । 

त्यस्ता व्यक्ति तथा संस्थालाई जरिवानासँगै व्यवसाय बन्द गराउनेसम्मको चेतावनी दिइएको छ । सूचनामा भनिएको छ, ‘उत्पादन र सेवाको गुणस्तर तथा विवरण गलत प्रमाणित भएमा महानगरपालिकाले गलत उत्पादन, वस्तु तथा सामान नष्ट गर्ने, गलत काम गर्नेलाई जरिवाना तिराउने, व्यवसाय बन्द गराउनेसँगै अनुमति पत्र खारेजसम्मको प्रक्रिया अवलम्बन गर्नेछ ।’ 

उपभोक्ता ठगिएको प्रमाणित भएमा दुई लाख रुपैयाँसम्म जरिवाना हुने र उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार झुटो र भ्रमपूर्ण विवरण दिएर उपभोक्तालाई झुक्याउने कार्य गरेमा एक लाख रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजायको व्यवस्था रहेको पनि महानगरले स्मरण गराएको छ ।
 

टिप्पणीहरू