पशुपतिमा कसको जाने भो पाइला

पशुपतिमा कसको जाने भो पाइला

पशुपति विकास कोषको सदस्य सचिव पदमा नियुक्तिका लागि स्वार्थ समूह शक्ति केन्द्र धाउन थालेका छन् । अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बित वर्तमान सदस्य सचिव मिलनकुमार थापा यही भदौ १८ गतेदेखि अवकाशमा जाँदै छन् । यस क्रममा मारवाडीको समूहले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा वर्तमान परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालगायत उच्चपदस्थहरूलाई भेटेको तस्बिर फेला परेको छ । 

मारवाडी समूहले डा. बासुदेवकृष्ण शास्त्रीलाई सदस्य सचिव बनाउन चाहेको छ । शास्त्री टेलिभिजनमा ज्योतिषी सम्बन्धित कार्यक्रम गर्छन् । गौशालामा धर्मशालाको विवाद हुँदा मारवाडीहरूको सल्लाहकारका रूपमा प्रस्तुत भएका थिए । मारवाडीहरूद्धारा आयोजित पत्रकार सम्मेलनमा उनी कोषविरुद्ध सबैभन्दा अगाडि उभिए ।

आफूलाई भारतनिकट भनेर चिनाउने सन्दिप रानामगरले मारवाडी र बूढानीलकण्ठबीच पुलको काम गरिरहेका छन् । शास्त्रीलाई सदस्य–सचिव बनाउने विषयमा केही दिनअघि राणा, पाण्डे र कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीबीच छलफल भएको बुझिएको छ । 

कांग्रेस महामन्त्री गगन थापाले पनि उनका लागि लबिङ गरिरहेको बुझिएको छ । यसअघि थापा आफ्नो निर्वाचन क्षेत्रका सभापति श्याम संगतको पक्षमा थिए । तर, उनको शैक्षिक योग्यता र मापदण्ड नपुगेपछि शास्त्रीलाई बोकेर हिँडेका हुन् । वि.सं. २०६० जेठ १२ गते कोष र मारवाडी सेवा समितिबीच पशुपति धर्मशाला सञ्चालनका लागि सम्झौता भयो त्यसयता । ९ रोपनी ९ आना २ पैसा क्षेत्रफलमा फैलिएको उक्त जग्गामा भवन बनाएर समितिले राम्रो आम्दानी गरिरहेको छ ।

२०८० साउन १७ गते संस्कृतिमन्त्री सुदन किराँतीको नेतृत्वमा बसेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले सम्झौता खारेज गरेकोमा समितिले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले मागदाबी नपुग्ने आदेश गरेपछि मुद्दा खारेज भएको छ । त्यसपश्चात् धर्मशाला पशुपतिनाथमातहत आएको छ ।

काठमाडौं महानगरपालिकाले धर्मशाला खाली गर्न थालेकोमा उच्च अदालतले गत वर्ष तत्कालका लागि नहटाउन अल्पकालीन अन्तरिम आदेश थियो । मारवाडीहरूको जोडबलमा नियुक्त भएपछि उनले तिनकै लागि काम गर्ने हो’, स्रोतले भन्यो ।

‘पशुपति क्षेत्र विकास कोष, ऐन २०४४’ ले सदस्य सचिवलाई कोषको प्रशासनिक प्रमुख मान्छ । पुरोहित वा धार्मिक व्यक्ति भएकै आधारमा सदस्य सचिव नियुक्त गर्न मिल्दैन । व्यवस्थापकीय र प्रशासनिक ज्ञान पनि हुनुपर्छ । बागमती गंगा आरतीमा कार्यवाहक अध्यक्षसमेत रहेका शास्त्रीलाई कोषले स्पष्टीकरण सोधेको बुझिएको छ । उनीमाथि अनियमितताको आरोपमा अख्तियारले कोषलाई पत्र लेखेको थियो । सोको कार्यान्वयन गर्दै कोषले स्पष्टीकरण सोधेको स्रोतको जिकिर छ । 

उनले आरतीको नाममा देश–विदेशबाट रकम संकलन गर्ने गरेको स्रोत बताउँछ । स्रोतका अनुसार पशुपतिनाथ मन्दिरको नाममा अनलाइन खोलेर उनले विदेशीबाट पैसा बटुल्छन् । कलाकारहरूलाई होच्याउने, व्यवस्थापनलाई समेत मै हुँ भनेर थर्काउने गर्छन् । उनीमाथि रसिद नकाटिकन दान लिने र विभिन्न बहानामा पैसा असुल्ने गरेको आरोप छ ।

कोषका एक कर्मचारी भन्छन्, ‘उहाँले भजन तथा आरती गर्ने कलाकारहरूलाई न्यून पारिश्रमिक दिई रसिद नकाटी पशुपतिमा गोप्यदान गर्नुपर्छ, रसिद काटेर दान गर्दा फलिफाप हुँदैन भनेर प्रचार गर्न लगाउनुहुन्छ । त्यस्तो हर्कतविरुद्ध उजुरी पनि परेको छ ।’ कोषमा परेको उजुरीको दर्ता नम्बर २६५ रहेको छ । यता, कोष र गंगा आरतीबीच पनि चरम विवाद छ ।

शास्त्रीसँगै तत्कालीन परिषद् सदस्य देवीप्रसाद बराल पनि दौडमा छन् । उनलाई एमाले नेता बालकृष्ण शिवाकोटीको साथ छ । विद्युतीय शवदाह गृहको दक्षिणतर्फ पशुपति भिजन नामक भवन शिवाकोटीको हो । सो भवनमा थुप्रै होटल र पसल सञ्चालित छ । तत्कालीन पर्यटनमन्त्री किराँतीले सोधेको स्पष्टीकरण  चित्तबुझ्दो नभएपछि उनलाई बर्खास्त गरिएकोमा सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।
 

टिप्पणीहरू