सर्वत्र प्रश्न उठेपछि सेनाको प्रष्टीकरण
भदौ २३ गतेको जेन-जी प्रदर्शन र भोलिपल्टको विध्वंशमा मुलुकका सरकारी निकायहरु जल्दा हात बाँधेर बसेको आरोपको विषयमा नेपाली सेनाले मुख खोलेको छ ।
घटनाको ठ्याक्कै एक महिनापछि आज विज्ञप्ति जारी गर्दै जंगीअड्डाले प्रष्टीकरण दिएको हो । संगठनलाई लक्षित गरी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका नकारात्मक टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै सेनाले शान्ति सुरक्षा कायम गर्न आवश्यकताअनुसारको पहलकदमी लिएको दावी गरेको छ ।
‘आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले मूल्याङ्कन गरी छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकताअनुसार पहलता लिएको अवगत गराउन चाहन्छौं’,विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, सेनाले आफ्नो भूमिकाप्रति विद्वतवर्ग, समाजसेवी, सञ्चारकर्मी तथा आम नागरिकहरूबाट प्राप्त भएका विभिन्न रायसुझाव तथा समालोचनात्मक अभिव्यक्तिप्रति आभार व्यक्त गरेको छ । साथै जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरेरमात्र यथार्थपरक सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ ।
भदौ २४ गतेको विध्वंशमा मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालतसहित सयौं सरकारी कार्यालयमा आगजनी भएको थियो । सिंहदरबारभित्रै नरसिंह दल गणको दमकल हुँदाहुँदै पनि आगो ननिभाएपछि सेनाको भूमिकालाई लिएर प्रश्न उठिरहेको छ । आजमात्र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसबारे चिन्ता व्यक्त गरेका थिए ।

टिप्पणीहरू