सुदनले गृहमन्त्री बन्न लफडा झिकेपछि...
भदौ २३ गतेको प्रदर्शनमा पानी बाँड्ने भूमिकाबाट रातारात जेन जी अगुवा बनेर उदाएका हामी नेपाल एनजिओका संस्थापक सुधन गुरुङले गृहमन्त्री बन्न राष्ट्रपति कार्यालयमा बबाल मच्चाएको घटना ढिलोगरी खुलेको छ ।
भदौ २७ गते शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण समारोहमा उनले गृहमन्त्रीका लागि लफडा गरेको जानकारी प्राप्त भएको हो । स्रोतका अनुसार सुधनले त्यसदिन आफूलाई पनि प्रधानमन्त्रीले सँगै शपथ गराउनुपर्ने भन्दै गलफत्ती गरेका थिए ।
२४ गतेको विध्वंशपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहेका बेला जेन जी समन्वयकर्ता बनेर जंगीअड्डा र शीतल निवासका वार्तामा सहभागी भएका सुधनले त्यतिबेलादेखि नै पद माग्दै आएका थिए । कार्की प्रधानमन्त्री हुने पक्का भएसँगै आफ्नो समूहलाई गृहमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय भाग लगाइनुपर्ने उनको माग थियो ।
त्यही बुझेर होला प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपाली सेनाले शुरुमा उनलाई शीतल निवास प्रवेशमा रोक लगाएको थियो । तर,पछि राष्ट्रपति कार्यालयका कर्मचारी,प्रधानमन्त्री कार्की र मुख्यसचिव एकनारायण अर्यालहरूको आग्रहमा भित्र छिराइएका उनले गृहमन्त्री खान गर्नुसम्म गरेको प्रत्यक्षदर्शी स्रोत बताउँछ ।
अहिले आफूलाई पदको लोभ नभएको भन्दै सडकमा आदर्शका गफ छाँट्दै हिंडिरहेका उनले सुशीलालाई ढोग गरेपछि मलाई पनि गृहमन्त्री चाहियो भनेर निकैबेर बादबिवाद गरेका थिए । 'मलाई गृहमन्त्री बनाउनुपर्यो भनेर के-के भन्दै थिए, पछि के भयो हामीले चासो राख्ने कुरा भएन', स्रोतले भन्यो।
'जुँगाको रेखीसमेत नबसेका केटाहरु आउँछन्,हप्काउँछन्, राती १-२ बजेसम्म कराउँछन्,आनन्दले रिटायर्ड लाइफ बिताइरहेको मलाई के घाँडो आइलाग्यो यस्तो'
यता,जेन जी विध्वंशको रणनीतिकार भनिएका काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) साह र गृहमन्त्री ओमप्रकाश अर्यालबीच मनमुटाव चर्किएको चर्चा हुन थालेको छ । आफ्नै कोटामा गृहको कुर्सीमा पुगेका अर्याललाई हटाएर मीरा चौधरीलाई त्यहाँ लैजाने बालेनको प्रयास छ ।
त्यसनिम्ति उनले प्रधानमन्त्रीलाई केही पटक आग्रह पनि गरिसकेका छन् । तर, एक महिना नपुग्दै गृहमन्त्री फेर्दा जेन जीबीचमै विवाद रहेको सन्देश जाने भन्दै प्रम कार्की सहमत नभएपछि उनी जिल्लिएको स्रोत बताउँछ ।
बुझिएअनुसार यस्ता अनेकन लफडाले गर्दा निकटहरूसँगको कुराकानीमा प्रधानमन्त्री कार्कीले 'के घाँडो आइलाग्यो यस्तो' भन्दै दिक्क मान्न थालिसकेकी छन् । कहिले फागुन २२ गते आउला र नयाँ सरकारलाई कुर्सी हस्तान्तरण गरेर जान पाइएला भन्दै उनले हैरानी पोख्ने गरेको बताइन्छ।
'जुँगाको रेखीसमेत नबसेका केटाहरु आउँछन्,हप्काउँछन्, राती १-२ बजेसम्म कराउँछन्,आनन्दले रिटायर्ड लाइफ बिताइरहेको मलाई के घाँडो आइलाग्यो यस्तो', प्रमको भनाइ स्रोतले सुनायो, 'कहिले बेलायत गएर छोरासँग आनन्दले बसौँ जस्तो भैसक्यो ।'
टिप्पणीहरू