मधेशका सांसद कुशवाहाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंह कुशवाहासहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा अभियोग पत्र दर्ता गरेको हो । उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालका नेतासमेत रहेका महोत्तरी क्षेत्र नं. ४ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद कुशवाहलाई अख्तियारले आज बिहान नियन्त्रणमा लिएको थियो ।
उनीमाथि सांसद विकास कोषको पैसा धर्मशाला निर्माण उपभोक्ता समितिमार्फत् आफ्नो श्रीमतीको बैंक खातामा दाखिला गरेको आरोप छ । अख्तियारले गत जेठ २० गते पक्राउ गरेर बयान लिएकोमा आज पुनः नियन्त्रणमा लिएर मुद्दा चलाएको हो । अभियोगपत्रमा ३८ लाख ५० हजार विगो मागदावी गरिएको छ ।
मुद्दा चलाइएका अन्यमा योगिन्दर महतो, सुनयना कुमारी, रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी भन्ने स्वीकृति देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, यमुना प्रसाद महतो र कौशिल्या देवी छन् ।
टिप्पणीहरू