सरकारी निकायमा यसरी छिर्छन् सुदन
‘हानौंला झैं आउँछन् । अनि सम्झाएपछि फतक्कै गल्छन्’पछिल्लो समय देशलाई आफ्नै वरिपरी घुमाइरहेका सुदन गुरुङबारे एक सरकारी अधिकारीको भनाइ हो यो ।’ आउँछन्, आफ्नो केरा सीधासाधी राख्छन् । गरिहाल्नुस् हामी धेरै पर्खिन सक्दैनौं भन्छन् अनि हिँडी पनि हाल्छन् । हो, यस्तै छन् सुदन जसलाई धेरे कुरा थाहा छैन । थाहा भएको भए संविधानै खारेज गर्न मन छ, तर के गर्नु ? कालापानी, लिम्पियाधुरा उता पर्छ, के गरौँ, के गरौँ, दोधारमा छु भन्दैन थिए,’ उच्च स्रोत भन्छ, ‘बोलीमा लगाम नभए पनि उसको मनचाहिँ सफा छ ।’
मन्त्रीमाथि ओली र लेखकलाई समातिहाल्न दबाब दिने होस् कि, छानबिन समितिलाई नै किन नहोस् छिटो अनुसन्धान गर्नुस्, जाकिहाल्नुस्को शैलीमा प्रस्तुत हुन्छन् । आयोगलाई तीन महिनाको समय दिइएकोमा अब म्याद २ महिना मात्रै बाँकी छ । मन सफा भए पनि बालेनहरूले उचालेर यो गर त्यो गर, भनेपछि उनी भड्किने गरेको स्रोत बताउँछ । खासमा बालेनसँग पनि सुदनको भित्री कुरा मिल्न छाडेको स्रोतको दावी छ ।
‘बालेनसँग लामो समय जालाजस्तो लाग्दैन । सुदन भदौ २३ र २४ गतेको घटनापछि बालेन लुकेर बसेको छ भन्दै थियो । ठूलो घटनापछि बालेनलाई खुल्न गाह्रो भएको उसैले बताएको हो,’ स्रोतले भन्यो, ‘म आफैंले पनि बोलेनलाई धेरै दिनदेखि देखेको छैन भन्थ्यो । यद्यपि आफ्ना कुरा बालेनले सुदनमार्पmत लाद्न लगाएको जस्तो उसको आशय थियो ।’ बालेनको कसैलाई नसहने, अरुको कुरा नसुन्ने प्रवृत्तिबाट उनीसँग संगत गर्नेहरू आजित भएको पनि स्रोत बताउँछ ।
‘बालेनले जोसँग संगत गर्छन्, टिममा राख्छन्, पूर्व सचिव शंकरप्रसाद पाण्डेलाई जस्तै सल्लाहकार बनाउँछन् उनीहरू ओमप्रकाश अर्याल जसरी असन्तुष्ट भएर निस्कन्छन् । सुदनलाई पनि तत्काल बालेनले चलाएजस्तो देखिन्छ । तर सुदन आफ्नोलागि आफैं वातावरण बनाउनुपर्छ भन्नेमा पुगेको जस्तो देखिन्छ,’ स्रोत भन्छ, बालेनलाई मन नपराउनेको संख्या बढ्दो छ । जे गर्दा पनि लुकेर हान्छ, भनेर उसकै मान्छे पनि उसका योजनासँग सन्तुष्ट छैनन् ।’
सुदनलाई सल्लाह
जेनजी आन्दोलनपछि एकाएक सतहमा देखिएका सुदन गुरुङलाई भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको आयोगका कर्मचारीहरुले चेतावनीको भाषामा ‘धेरै नबोलौँ है मिडियामा । यो मीटरब्याजी आयोगजस्तो होइन, सेन्सिटिभ आयोग हो । भनी सल्लाह दिएका छन् ।
छानविन आयोगलाई २३ र २४ गते भएको मानवीय र भौतिक क्षतिको अनुसन्धान गर्न भनिएको छ । ‘हामीले सरकारी सम्पत्ति, संवैधानिक संयन्त्र र निजी क्षेत्रको क्षतिको विवरण मागेका छौं । यसपछि व्यापारिक क्षेत्रको क्षति अध्ययन गर्छौं ।’ आयोग स्रोतले भन्यो ।
आयोगले शुरुमा मौसम तथा जलवायु विज्ञान कार्यालयबाट काम थालेको थियो । तर दिनदिनै भीड बढ्ने र काम गर्न अप्ठेरो भएपछि कार्यालय सिंहदरबारभित्र मुख्यसचिवको पुरानो कार्यकक्षतिर सरेको छ ।
(जनआस्था साप्ताहिकको असाेज २९ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू