पुनर्निर्मित ट्राफिक कन्ट्रोल रुममा अत्याधुनिक उपकरण

पुनर्निर्मित ट्राफिक कन्ट्रोल रुममा अत्याधुनिक उपकरण

भदौ २४ गतेको जेन–जी विध्वंसका क्रममा ध्वस्त भएको काठमाडौंको रामशाहपथस्थित उपत्यका प्रहरी कार्यालयको ट्राफिक कन्ट्रोल रुम पुनर्निर्माण गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पुनःनिर्माण गरिदिएको कन्ट्रोल रुम अत्याधुनिक उपकरण र संरचनाले सुसज्जित रहेको बताइन्छ ।  

नयाँ कन्ट्रोल रुम औपचारिक रूपमा उपत्यका प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको हो। एनआरएनए अध्यक्ष महेश श्रेष्ठले उपत्यका प्रहरी प्रमुख, अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई कन्ट्रोल रुमको साँचो हस्तान्तरण गरेका छन् ।

संघका अनुसार ७५ लाख ४४ हजार रुपैयाँको लागतमा सम्पन्न उक्त परियोजनामा सिभिल संरचना, आधुनिक डिजाइन, भिडियो वाल, नेटवर्क प्रणाली र अपरेसनल उपकरणहरू राखिएको छ । अब उपत्यकाका मुख्य सडकहरू सिसिटिभी निगरानीमा आउने भएका छन्। 

कार्यक्रममा अध्यक्ष श्रेष्ठले कन्ट्रोल रुम पुनःनिर्माणलाई “प्रवासी नेपालीको मातृभूमिप्रतिको जिम्मेवारी र सहकार्यको प्रतीक” भएको बताए। उनले दोस्रो चरणमा मादक पदार्थ सेवन (मापसे) नियन्त्रणका लागि “बेथ लाइजर” उपकरण हस्तान्तरण गर्ने घोषणा गरे । 

उपत्यका प्रहरी प्रमुख एआईजी कार्कीले छोटो समयमा पुनःनिर्माण सम्पन्न गरिदिएको योगदानप्रति एनआरएनएलाई धन्यवाद दिएका छन्। त्यस्तै, प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले पुनःनिर्मित कन्ट्रोल रुमले ट्राफिक व्यवस्थापनमा “भौतिक उपस्थितिको निर्भरता घटाएर” निगरानी र नियन्त्रण प्रणालीलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

टिप्पणीहरू