गाेपाल किराँती माओवादीमा समाहित
गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ ।
माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र किराँतीबीच आज पार्टी एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो । मुलुकमा अभूतपूर्व राजनीतिक जोखिम उत्पन्न भइरहेको विश्लेषणसहित क्रान्तिकारी शक्तिबीच ध्रुवीकरण आवश्यकता देखिएको भन्दै एकतावद्ध हुनुपरेकाे सहमति पत्रमा उल्लेख छ ।
विगतमा भए गरेका वैचारिक राजनीतिक एवं सांगठानिक गल्ती कमजोरीहरुका सम्बन्धमा कार्यटोली बनाई वस्तुनिष्ठ समीक्षाको दस्तावेजीकरण गर्ने दुवैले प्रतिवद्धता गरेका छन् । ‘जसको मार्गदर्शनमा जनवर्गको तहबाटै एकता–संघर्ष–रुपान्तरण, मुख्यत: रुपान्तरण र नयाँ आधारमा नयाँ एकता सृष्टि गर्दै नेपाली क्रान्तिको समाजवादी कार्यभार उठान सामर्थ्य आर्जन गर्ने’, सहमति पत्रमा भनिएको छ ।
प्रचण्ड र किराँतीले संयुक्त रुपमा संविधानको समाजवाद उन्मुख राज्यव्यवस्था कार्यान्वयनमा प्रभावकारी पहलद्वारा दलाल तथा नोकरशाही पुँजीवादी भ्रष्ट शासन अन्त्य गरिछाड्ने संकल्पमा जुट्न जेनजी पुस्तालाई आह्वानसमेत गरेका छन् ।
पूर्वमन्त्रीसमेत रहेका किराती माओवादी पृष्ठभूमिका नेता हुन् । २०७५ जेठमा एमालेसँग भएको एकताप्रति असन्तुष्ट हुँदै उनले माओवादी केन्द्र पुनर्गठन गरेका थिए । पछि सर्वोच्च अदालतले नेकपाको विभाजन उल्ट्याउदै एमाले र माओवादी केन्द्रलाई पुरानै हैसियतमा फर्काइदिएपछि उनले नयाँ पार्टी गठन गरेका हुन् ।
टिप्पणीहरू