काँग्रेसका दुई पक्ष : एउटा आनन्दभूमिमा, अर्को नेताकाेमा

काँग्रेसका दुई पक्ष : एउटा आनन्दभूमिमा, अर्को नेताकाेमा

नेपाली काँग्रेसभित्रको आन्तरिक तानातान फेरि सतहमा आएको छ। सभापति शेरबहादुर देउवा निकट नेताहरु बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा भेला हुँदा इतर पक्षका नेताहरूले शेखर कोइरालासँग छलफल गरेका छन् ।

देउवापक्षीय भनिएका नेताहरूको उक्त भेला महाधिवेशन विवादले पार्टीभित्र माहौल तात्दै गएको समयमा आयोजना गरिएको छ । सहभागी एक नेताका अनुसार भेलामा केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू पनि सहभागी छन्।

भेलामा १५औं महाधिवेशनको मिति प्रस्ताव गर्ने तयारी गरिएको छ । साथै, अन्तरिम सरकारले २१ फागुनका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनको तयारीसमेत छलफलको एजेन्डामा राखिएको बताइन्छ ।

यता, विशेष महाधिवेशन पक्षधर नेताहरू भने सो समूहका नेता डा. शेखर कोइरालासँग छुट्टै छलफलमा जुटेका हुन् । गुरुराज घिमिरे, मनोजमणि आचार्य, देवराज चालिसेलगायतले कोइरालासँग भेट गरी विशेष महाधिवेशनको मिति तोकेर अघि बढ्नुपर्ने विषयमा छलफल गरेको बुझिएको छ । कोइरालाले भने त्यसका लागि आफूले संस्थापन पक्षसँग समन्वयकारी भूमिका खेलिरहेको जानकारी दिएका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन नभए पुसभित्र नियमित महाधिवेशन गर्नुपर्ने माग सार्वजनिक रूपमा उठाइरहेका बेला देउवा निकट नेताहरू ‘उपयुक्त निकास’ खोज्न छलफलमा जुटेका हुन्।
 

टिप्पणीहरू