चुनाव सर्ने सम्भावना देख्छन् मन्त्री नै

चुनाव सर्ने सम्भावना देख्छन् मन्त्री नै

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको दुई महिना पुग्न लागेको छ । यो सरकारको प्रमुख काम चुनाव गराउनु हो । 

आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । तर, सरकार र राजनीतिक दलबीच देखिएको अविश्वासका कारण तोकिएको मितिमै चुनाव हुनेमा ढुक्क हुने स्थिति छैन ।
 
यस सम्बन्धमा जनआस्थाले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हासँग कुराकानी गरेको छ । चुनावको वातावरण बनाउन सरकारले गरिरहेका काम, शान्ति, सुरक्षाको अवस्था र समग्र तयारीबारे राखिएको जिज्ञासामा उनले घोषित मितिमै चुनाव सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।   

राष्ट्रपतिले तोकेको समयमै चुनाव गर्नुपर्ने दायित्व र बाध्यतामा सरकार रहेको उल्लेख गर्दै मन्त्री सिन्हाले आम सहमतिका आधारमा चुनावको मिति सार्न सकिने विकल्प पनि सुनाए । राजनीतिक दलहरूले सर्वसम्मति गरेर आएको खण्डमा राष्ट्रपतिले निकास निकाल्नेगरी मिति  लम्ब्याउन सकिने संकेत उनले दिएका हुन् । 

‘राष्ट्रपतिले ६ महिनाभित्र आम निर्वाचन गराउने समयसीमा तोक्नुभएको छ, फागुन २१ गतेको मिति हेरफेर हुने–नहुने त्यो राष्ट्रपतिको अधिकारको कुरा हो’, उनले भने, ‘तर, त्यो मिति राजनीतिक दलहरुको सर्वदलीय सहमतिमा केही हेरफेर पनि हुनसक्छ । नत्र निर्धारित मिति फागुन २१ गते चुनाव गराउनुभन्दा अन्य विकल्प छैन ।’

मन्त्री सिन्हाले वर्तमान सरकार जेनजी युवाहरूको संघर्ष र आन्दोलनबाट गठन भएकाले चुनाव गराएरमात्र बाहिरिने प्रतिबद्धता दोहोर्याए । शान्ति सुरक्षाको स्थिति बिग्रिएको भन्ने प्रश्नमा उनको प्रतिप्रश्न छ, ‘अहिले राति १२ बजे सडकमा नागरिक निर्धक्क रुपमा हिँड्डुल गर्ने वातावरण छ कि छैन ? यो सरकार बन्नुअघि सुरक्षा स्थिति कस्तो थियो ?’  

शान्ति सुरक्षाको स्थिति सुदृढ र विश्वासनीय रहेको दाबी गरेका मन्त्रीले चुनावका लागि केही प्राविधिक कठिनाइ भने रहेको बताए ।

‘चुनावका लागि बन्दोबस्तीका सामग्रीमा बरु कमी छ, त्यसको व्यवस्थापनमा हामी लागिपरेका छौं । तर, शान्ति सुरक्षामा हामी पूर्ण सुदृढ र विश्वास गर्न लायक भएका छौं । सुरक्षाको सवालमा अविश्वासको वातावरण नबनाऔं । सुरक्षा प्रमुखहरुले पूर्ण आत्मबलसहित चुस्तदुरुस्त वातावरण रहेको बताइरहनुभएको छ,’ उनले भने ।
 
प्रधानमन्त्री सुशीला कार्कीका विश्वासपात्र तथा सर्वोच्च अदालतका पूर्वन्यायाधीशसमेत रहेका उनले आन्दोलनका क्रममा लुटिएका हातहतियारका कारण सुरक्षा चूनौती बढेको प्रसंगमा फरक तर्क गरे । 

‘लुटिएका, चोरिएका या हराएका हतियार कुनै संगठित गिरोहको हातमा पुगेको दाबी छ ? छैन । छिटफुट रुपमा कसैको हातमा होला, त्यो अलग कुरा भयो’, मन्त्री सिन्हाले भने, ‘त्यो पनि क्रमशः सुरक्षा निकायको नियन्त्रणमा आइरहेको अवस्था छ । यसैलाई आधार बनाएर चुनाव हुँदैन भनेर अफवाह फैलाउनु जायज होइन नि !’

केही दिनअघि प्रधानमन्त्री कार्कीले राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेट्ने कुनै इच्छा नरहेको भनि दिएको अभिव्यक्ति फरक प्रसंगमा आएको प्रतिक्रिया दिए । सरकारको संवैधानिक तथा राजनीतिक हैसियतमाथि उठेका प्रश्नको जवाफ दिनेक्रममा 'आउट अफ कन्टेस' यो कुरा निस्किएको उनले अर्थ्याए । 

‘कसैले उहाँसँग संवाद गर्नु आवश्यक छैन भनि दिनुभएको प्रतिक्रियाको जवाफ मात्रै हो त्यो, खुला संवाद गरेर चुनावको वातावरण बनाउन प्रधानमन्त्री र हामी तयारै छौँ’, जनआस्थासँग मन्त्री सिन्हाले भने, ‘उहाँहरु सम्बन्धित दलका लागि सम्मानित नेता हुनुहुन्छ । देशको आवश्यकतालाई सम्मान गर्नु र कदम चाल्नु सरकारको जिम्मेवारी र अहिलेको आवश्यकता हो ।’

 

टिप्पणीहरू