बालेनका पिए र जनप्रतिनिधिको उही हो हैसियत ?
स्वकीय सचिव को हुन् ? कर्मचारी वा जनप्रतिनिधि ? उनीहरुको काम,कर्तव्य र अधिकार के हो ? कानूनत: भन्नुपर्दा जनप्रतिनिधिको सुविधा वा सहयोगका निम्ति राखिने व्यक्ति नै स्वकीय सचिव हो । ऊ करारको कर्मचारी हो,जनप्रतिनिधि हैन ।
तर, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) का स्वकीय सचिव भूपदेव शाहको हर्कतले स्वकीय सचिवको भूमिका,हैसियत,पदीय मर्यादा र जिम्मेवारीप्रति गम्भीर प्रश्न खडा गरेको छ । मेयरको सहयोगीका रुपमा नियुक्ति पाएका उनी सार्वजनिक कार्यक्रममा प्रतिनिधि बनेर हिँड्न थालेका छन् ।
महानगरमा कार्यरत ठुलै पदको कर्मचारी र जनप्रतिनिधिजसरी उनी कार्यक्रममा उपस्थित हुने गरेको पाइन्छ । हिजो मात्रै महानगरले आयोजना गरेको एक कार्यक्रममा यसैगरी देखिए । सामुदायिक विद्यालयमा सञ्चालन गरिँदै आएको ‘बुक फ्रि फाइडे’ अन्तर्गत महानगरको शिक्षा विभागले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनी प्रतिनिधिका रुपमा प्रस्तुत भएका हुन् ।
कार्यक्रममा महानगरको सामुदायिक विद्यालयका प्रधानाध्यापक र फोकल पर्सनसँग सांस्कृतिक संस्थानसँगको सहकार्यमा छलफल गरिएको थियो । त्यसक्रममा महानगरको तर्फबाट बालेनका स्वकीय सचिव शाहले सम्बोधन गरे ।
शाहले आफ्नो फेसबुकमा तस्बिर सेयर गर्दै लेखेका छन्, ‘काठमाडौं महानगरपालिकाद्धारा सामुदायिक विद्यालयहरुमा सञ्चालित बुक फ्रि फाइडे (४–८ सिर्जनात्मक सिकाई र ९ कक्षालाई शिक्षामा सीप) कार्यक्रम सम्बन्धमा प्रधानाध्यापकज्यूहरु र फोकल पर्सनज्यूहरुसँग सांस्कृतिक संस्थानसँगको सहकार्यमा छलफल सम्पन्न ।’
ग्रास रुट लेबलमा विद्यालय नेतृत्वले नै कार्यक्रम संस्थागत गर्न अग्रसरता बढाउने आशा जनाउँदै उनले थपेका छन्, ‘शिक्षा विभागले कार्यान्वयन र अनुगमनमा थप सक्रियता बढाउने र आवश्यक नीतिगत सुधार र स्रोत साधनको व्यवस्थापनमा महानगरपालिका विगतझैं प्रतिबद्ध रहेको सन्देश आजको कार्यक्रमबाट लिन सकिन्छ ।’
महानगरमा पर्याप्त कर्मचारी र जनप्रतिनिधि हुँदाहुँदै भूपदेवले महानगर प्रतिनिधिको हैसियतमा सार्वजनिक कार्यक्रममा सम्बोधन गरेको यो पहिलो पटक होइन । गत भदौमा उनी महानगर प्रतिनिधि बनेरै थाइल्याण्डमा आयोजित संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय कार्यक्रममा सहभागी भएका थिए ।
कर्मचारी र जनप्रतिनिधिलाई बेवास्ता गरेर मेयर बालेनले आफ्नो पिएलाई विदेश पठाएपछि महानगरमा असन्तुष्टि बढेको थियो । तर, विवाद र असन्तुष्टिबीच समेत चर्चित मेयरको पिए भएकै कारण शाहले महानगरका स्थायी कर्मचारी र जनप्रतिनिधिलाई पाखा लगाएर मनमौजी गरिरहेको आरोप छ ।
टिप्पणीहरू