एकतामा जाने कि जनार्दन समूहमा भन्ने अलमलमा पूर्वमन्त्री
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा १० वाम दल एकै ठाउँ आएका छन्। उनीहरूले घोषणा गरेको ८८‘नेपाली कम्युनिष्ट पार्टी’८८मा जान उपमहासचिव जनार्दन शर्मा समूह खुट्टा उचालेर बसेको छ। तर मोरङका नेता र पूर्वमन्त्री शिवकुमार मण्डलले ‘जाने कि बस्ने’ भनेर अझै निर्णय लिन सकेका छैनन्।
१० वाम मिलेर नेपाली कम्युनिष्ट पार्टी गठन हुँदा पार्टीका उपमहासचिव शर्मा र पूर्वसचिव राम कार्कीसमेतका नेताहरूले एकता अस्वीकार गर्दै अलग अभियानको घोषणा गरेका थिए। प्रचण्डको निकट मानिएका शिवकुमार पछिल्लो समय जनार्दन समूहमा लागेका छन्। प्रचण्डको विरोध र जनार्दनको समर्थन गर्दै फेसबुकमा उनले पटकपटक स्ट्याटस नै लेखेका थिए।
जनार्दन एकतामा नगएपछि शिवकुमार ‘नेपाली कम्युनिष्ट पार्टी’मा जान सक्रिय छलफलमा छन्। उनले आफ्ना कार्यकर्ताहरूको विराटनगरमा भेला नै गराएका थिए, जसमा विराटनगर महानगरपालिकाका अध्यक्ष देव राजवंशी, प्रदेश सदस्य राजेन्द्र मण्डललगायत उपस्थित थिए। तर, छलफलबाट कुनै निष्कर्ष निस्केन।
शिवकुमारले अहिलेसम्म पनि जनार्दन समूहमै रहने कि प्रचण्डको एकतामा जाने निर्णय लिन सकेका छैनन्। कार्यकर्ताले सोध्दा शिवकुमार भन्छन्, ‘मैले अहिलेसम्म कुनै निर्णय लिएको छैन। छलफलमै छु।’ माओवादी नेताहरूका अनुसार शिवकुमारले प्रचण्डलाई जथाभावी भनिसकेकाले उनी अहिले अप्ठेरोमा परेका हुन्।
शिवकुमार आफ्नो टिम लिएर जनार्दन समूहमा जान चाहन्छन्। तर आफ्नो कोर टिममा रहेका सदस्यहरूले संस्थापन पक्ष छोड्न नचाहेकाले उनी दोधारमा छन्। तत्काल मोरङको वनिगाभा गाउँविकास समिति र हाल रंगेली नगरपालिकामा रहेका बनियाँ परिवारका शिवकुमार जनयुद्धकालमा भारतस्थित ससुरालीमा बसेका थिए।
सीमा क्षेत्रमा हुने तस्करी, मोरङमा हुने ठेक्कापट्टा, कर्मचारी सरुवा–बढुवामा उनको हात रहने बताइन्छ। विराटनगरमा उनका दुई घर छन् भने १० कठ्ठा जग्गा जोडेका छन्। उनले शान्ति प्रक्रियापछि पार्टीको आचारसंहितालाई बेवास्ता गर्दै छोराहरूलाई महँगो निजी बोर्डिङ स्कुलमा पढाएका थिए।
उनकै सिको सिकेर सबैले आफ्ना सन्तानलाई निजी विद्यालय पठाएका हुन्। शिवकुमार अन्तरिम संविधान सभामा सांसद थिए भने त्यसपछि उनी मोरङ–४ बाट थोरै मतले विजयी भएर आपूर्तिमन्त्री बने। आफ्ना सहयोगी दिलिप बगडियालाई उनले यसअघि माओवादीबाट रंगेली नगरपालिकाको मेयर बनाएका थिए्
तर, माओवादीसँग सम्बन्ध टुटेपछि उनी एमालेबाट मेयरमा निर्वाचित भएका हुन्। एक दर्जन ईँट्टाभट्टाका मालिक बगडियाको सहयोगमा चुनाव जितेका शिवकुमार २०७९ को निर्वाचनमा हार्नुको कारण सम्बन्ध बिग्रिनु हो। बगडियाले साथ नदिँदा उनी एमालेको बागी उम्मेदवार योगेन्द्र मण्डलसँग पराजित भएका हुन्।
कोशी प्रदेशमा जनार्दन पक्षको बलियो प्रभाव रहेको भनिएतापनि त्यस्तो देखिएको छैन। जनार्दन समूहको प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो), प्रदेश उपाध्यक्ष शिवकुमार डाँगी, संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोलगायतले अन्तिम समयमा उनको साथ छोडेका छन्।
यता, इलामका धिरेन्द्र शर्मा, ताप्लेजुङका मिङमा शेर्पा, झापाकी लक्ष्मी न्यौपाने, सोलखुम्बुका गोम्बु शेर्पा पनि नेकपामै बसे। कोशीको पूर्वमन्त्री सुदन किराँती मात्र खुलेर जनार्दन समूहमा लागेका छन्।
टिप्पणीहरू