सानो देश, अझै ठुल्ठूला अपराध

सानो देश, अझै ठुल्ठूला अपराध

बरु आकाशमा उड्ने पन्छीको गति पत्ता लगाउन सकिएला तर सरकारी कर्मचारीको दुर्व्यवहारयुक्त मनोभाव बुझ्न असम्भवप्रायः छ । निजामतीमाथि लाग्दै आएको एउटा निर्मम आरोप हो, सेवाभित्र झण्डै ८० प्रतिशत खराब प्रवृत्तिका कर्मचारी छन्, २० प्रतिशत असल ! हिसाब किताब र बाँडफाँड नमिल्दा मात्र हो, तीमध्ये केही अख्तियारको फन्दामा पर्ने ! यत्रो जेनजी विद्रोह भयो तर पाएको र मिलेको बेला कात्रोमा पनि कमिसन खान पछि नपर्ने जातको रूपमा चित्रित कर्मचारीतन्त्र एक अंश पनि सुध्रिएको छैन । 

जेनजी विद्रोह यतामात्र चार कर्मचारी, एक गुरु (प्राचार्य) र एक प्रहरी घुससहित रंगेहात पक्राउ परिसके । अख्तियारले भदौं २३ यता विभिन्न १८ वटा मुद्दा लैजाँदा पूर्वमन्त्री राजकुमार गुप्ता, रञ्जिता श्रेष्ठ, शरदसिंह भण्डारीकी बहिनी संगीता, पूर्वअतिरिक्त सचिव संगीता मिश्रलगायत ‘ठूला माछा’ प्रतिवादी बनेका छन् । १५ हजारदेखि साढे चार लाख नजराना बुझिरहेको अवस्थामा साना माछाहरू फन्दामा परेका समेत छन् । 

जेनजी विद्रोहको राप– ताप सेलाउन नपाउँदै असोज ३ मा बरिष्ठ लेखा अधिकृत १ लाख घुससहित पक्राउ परे । ती हुन् टंकबहादुर कार्की, डुङ्गेश्वर गाउँपालिकामा कार्यरत । सडक स्तरोन्नतिसम्बन्धी अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग १ लाख बुझ्दा निलम्बनमा परेका उनलाई प्रतिवादी बनाएर अख्तियारले एक महिना १० दिनपछि विशेषमा मुद्दा लगिसकेको छ । जेनजी विद्रोहको ठ्याक्कै महिना दिनपछि ४ लाख ५० हजारसहित फन्दामा परेका गुरुसहित घुस दिने बिचौलिया अख्तियारको नियन्त्रणमा छन् ।

विद्यालयमा शिक्षक नियुक्त गर्दा साढे चार लाख घुस लेनदेन गर्ने प्रधानाध्यापक रौतहटको जय किसान माध्यमिक विद्यालय धरहरीका सञ्जयप्रसाद र बिचौलिया अरविन्दप्रकाश साह कानु रहेको अख्तियारले जनाएको छ । यही बीच वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाल स्टिङ्ग अप्रेसनमा परे । अख्तियारले सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीलाई सेवाग्राहीबाट १५ हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएर विशेष अदालत, काठमाडौँमा आरोप–पत्र दायर गरिसकेको छ भने मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई सेवाग्राहीसँग दुई लाख रूपैयाँ लिइसकेको अवस्थामा भ्रष्टाचार मुद्दा चलाइएको छ । 

सबैभन्दा घुस्याहा अधिकृत 

अख्तियारको पछिल्लो प्रतिवेदन केलाउँदा अधिकृतस्तरका कर्मचारी सबैभन्दा घुस्याहा रहेको पाइन्छ । अख्तियारले वर्षभरिमा ३९२ कर्मचारीउपर मुद्दा चलाउँदा अधिकृतस्तरका १७२ कर्मचारी परेका छन् । अघिल्लो आर्थिक वर्ष एक सचिव, २४ सहसचिव, २४ जना उपसचिवसहित शाखा अधिकृत १७२ जना र सहायकस्तरका १४१ जनालाई प्रतिवादी बनाइएको छ । 

महिला पनि के कम !

महिला कर्मचारी पनि घुस खानमा अगाडि देखिएका छन् । हालै अख्तियारले अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राविरुद्ध १४ करोड मागदावी गर्दै विशेषमा मुद्दा लगेको छ । यसअघि उत्कृष्ट निजामती पुरस्कार थापेकी लेखा पनेरु १ लाख घुस काण्डमा भ्रष्टाचारी ठहर भइसकेकी छन् भने पोखरा महानगरपालिकाकी सब इञ्जिनियर उषाकिरण रोकायासमेतलाई विशेष अदालतले दोषी ठहर गरेको छ । उनी पोखराबाट १ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेकी थिइन् ।

यसअघि २५ हजार घुस लिने सब इञ्जिनियर विजया लक्ष्मी पन्त हुन् वा ३० हजार घुस लिएको आधारमा जागिर गुमाएकी कम्प्युटर अधिकृत विन्दु प्रधानलाई भ्रष्ट ठहर गरिएको थियो । चुलो चौकामा सीमित महिलाहरू आरक्षणको व्यवस्थासँगै सरकारी सेवामा २९ प्रतिशत पुगेका छन् । भ्रष्टाचारजन्य कसुरमा १३५ वटा र सम्पत्ति शुद्धीकरण कसुरमा २ वटा गरी जम्मा १३७ वटा मुद्दा विशेष अदालतमा पुर्‍याएकोमा ९४ जना महिला, ६१९ जना पुरुष र ४० संस्था गरी कूल ७५३ जनालाई प्रतिवादी बनाइएको छ ।

उनीहरूउपर कैद सजायँ र जरिवानाका अतिरिक्त जम्मा ६ अर्ब १ करोड ८४ लाख ७२ हजार ६ सय ९२ रुपियाँ ९३ पैसा बिगो मागदाबी लिइएको छ अर्थात ९४ महिला र ६१९ पुरुषले राज्यको झण्डै ६ अर्ब अकुत सम्पत्ति कमाएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । त्यो प्रमाणित हुने नहुने विशेषको फैसलामा निर्भर रहन्छ । 

(जनआस्था साप्ताहिकको कात्तिक १९ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू