गगन र विश्वलाई चुनावसम्म पार्टी जिम्मा लगाउन प्रस्ताव
नेपाली काँग्रेसमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई आगामी निर्वाचनसम्मका लागि नेतृत्वको जिम्मेवारी दिनुपर्ने प्रस्ताव गरिएको छ ।
सानेपास्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठकमा नेता डा. मीनेन्द्र रिजालले यस्तो प्रस्ताव राखेका हुन् । फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभा निर्वाचनको लागि टिकट बाँड्ने जिम्मासमेत थापा र शर्मालाई दिनुपर्ने उनको भनाइ छ ।
‘चुनाव आउन चार महिना बाँकी छ, तपाईहरू बुढाखाडा चुप लागेर बस्नुहोस्, दुई जनालाई जिम्मा लगाऔँ’, बैठकमा रिजालले भने, ‘किन कचकच गर्ने ? यसरी चुनाव लडिन्छ ? कम्तिमा उहाँहरूले बुझ्नुभएको छ, बुझ्या मान्छेलाई चलाउन नदिने, अनि आफैँ जबर्जस्ती गर्ने, यो काम नगर्नुस्, मेरो विनम्र अनुरोध छ ।’
पूर्वमन्त्री समेत रहेका रिजालले दुई महामन्त्रीलाई पार्टी नेतृत्वको जिम्मेवारी दिए निर्वाचनसम्म उनीहरूको परीक्षा हुने पनि बताए । ‘उहाँहरूलाई जम्मा चार महिना पनि विश्वास गर्न सक्दैनौ र हामी ? उहाँहरुलाई काँग्रेसलाई अर्को १५/२० वर्ष विश्वास गर्नुपर्ने दिन आउँदैछ । कत्तिको ढंग पुर्याउनुहुन्छ चार महिनामा थाहा भैहाल्छ, त्यसैले विश्वास गर्नुहोस्’, उनले थपे ।
अर्का नेता रमेश लेखकले भने महामन्त्री थापा र संस्थापन पक्षले पेश गरेको कार्यतालिकामाथि छलफल गर्दै नयाँ विकल्प निकाल्नुपर्ने बताए । रिजालको प्रस्तावमाथि घुमाउरो असहमति जनाउँदै उनले मध्यमार्गी बाटो अपनाउनुपर्नेमा जोड दिएका हुन् ।
महामन्त्री थापाले पुस १६ देखि १९ गतेसम्मको कार्यातालिका र सहमहामन्त्री महेन्द्र यादवले बैशाख २७ देखि ३० गतेसम्मको कार्यतालिका पेश गरेका थिए । त्यसप्रति लेखकले भने, ‘विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता गरौँ । दुई वटा क्यालेन्डर आएको छ, दुई वटै क्यालेन्डरलाई मिलाएर एउटा क्यालेन्डर बनाएर जाउँ ।’
असोज २८ गतेदेखि शुरु भएको काँग्रेस बैठक अझै सकिएको छैन ।
टिप्पणीहरू