यस्तो छ विश्वप्रकाशको ‘राजनीतिक रोडम्याप’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरेको ४८ बुँदे राजनीतिक रोडम्यापले पार्टीभित्र ठूलो बहस निम्त्याएको छ। उनले कांग्रेसको रूपान्तरण, नेतृत्वको सीमांकन, निर्वाचन प्रणालीको पुनर्संरचना, मन्त्रिपरिषद् सानो बनाउने, अख्तियार तथा संवैधानिक निकाय सुधारदेखि राष्ट्रिय शासन स्थिरता सुनिश्चित गर्ने उद्देश्यसहित व्यापक सूत्रबद्ध प्रस्ताव पेश गरेका छन्।
शर्माको मूल धारणा कांग्रेस अब पुरानै ढाँचामा चल्ने पार्टी नभएर संरचनात्मक सुधारको अभावमा अघि बढ्न नसक्ने अवस्थामा पुगेको भन्ने देखिन्छ। पार्टीको शीर्ष नेतृत्वदेखि संगठन, चुनाव प्रणाली र राज्य सञ्चालनको मोडेल नै फेरबदल हुनुपर्छ भन्ने उनको निष्कर्ष छ।
जसअनुसार प्रधानमन्त्री दुई कार्यकालभन्दा धेरै बन्न नपाइने व्यवस्था आवश्यक छ। यसले नेतृत्वमा निरन्तर नवीकरण ल्याउँछ र शक्ति एकै व्यक्तिमा नजमतिने वातावरण बनाउँछ। सरकारको संरचना पनि सानो र चुस्त हुनुपर्छ भन्ने उनको ठहर छ— संघमा ११ र प्रदेशमा पाँच मन्त्री मात्रै रहेको सीमित संख्याको मन्त्रिमण्डल बनाउने प्रस्ताव उनको पहिलो बलियो हस्तक्षेप हो।
निर्वाचन प्रणालीमा उनले झनै साहसिक प्रस्ताव अघि सारेका छन् । कुनै दल पहिलो दल भएको तर सामान्य बहुमत नपुगेको अवस्थामा ‘विनर टेक्स अल’ सिद्धान्त लागू गर्नुपर्ने उनको मत छ। पूर्व–निर्धारित विज्ञसूची आयोगमा बुझाउने र आवश्यक परेको खण्डमा अपुग सिट पहिलो दललाई नै दिने व्यवस्थाले सरकार स्थिर र एकोहोरो बन्ने उनको दाबी छ। यसरी गठबन्धनको नाजुक व्यापार–बार्गेनिङ हटेर शासन सक्षम र उत्तरदायी हुने उनको तर्क छ।
प्रधानमन्त्री चयन प्रणाली पनि उनले सरल र स्पष्ट बनाउने सुझाव दिएका छन् । संसदीय दलले छान्ने नेतृत्व प्रधानमन्त्री हुने, प्रधानमन्त्रीले मन्त्रालयको जिम्मेवारी सम्बन्धित क्षेत्रको विज्ञताका आधारमा दिने, र मन्त्रिपरिषद् गठन एकै चरणमै सम्पन्न गर्ने उनको प्रस्ताव हो। शपथपछि १० दिनभित्र विश्वासको मत लिनुपर्ने, दुई वर्षपछि अनिवार्य दोस्रोपटक विश्वासको मत लिनुपर्ने, दुवै पार गरेमात्र प्रधानमन्त्रीले कार्यकाल पूरा गर्न पाउने व्यवस्था पनि उनले बैठकमा राखेका छन् ।
शर्माको रोडम्याप निर्वाचन क्षेत्र पुनरावलोकनसम्म पुगेको छ। संघ र प्रदेश दुवैमा निर्वाचन क्षेत्रको आकार सन्तुलनका आधारमा घटाउनुपर्ने उनको धारणा छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संवैधानिक परिषद्लगायत निकायहरूमा सुधार आवश्यक भन्दै उनले केही महत्वपूर्ण नियुक्ति खुला प्रतिस्पर्धाबाट हुने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
पार्टीभित्रका कार्यशैली सुधारका विषयमा पनि शर्मा स्पष्ट देखिन्छन्। क्रियाशील सदस्यता छिनोफानो गरेपछि वडा अधिवेशन र प्राइमरी एकैसाथ गर्न सकिने, पुसभित्रै महाधिवेशन सम्पन्न गर्दा निर्वाचनमा कुनै अवरोध नपर्ने उनको दाबी छ। प्रत्यक्षतर्फको सिट र लोकप्रिय मत दुबैको आधारमा पहिलो दलले सरकारको नेतृत्व गर्ने र अन्य दलहरू पूरै कार्यकाल विपक्षमै बस्नुपर्ने प्रणाली उनको नजरमा स्थिरताको आधार हो।
शर्माको निश्कर्ष छ ः कांग्रेसलाई अब ‘पुरानो भावनाको कांग्रेस÷नयाँ संभावनाको कांग्रेस’ को रूपमा पुनस्र्थापना गर्नुपर्छ। रिफर्म र एकताको संयोजन बिना कांग्रेस बलियो बन्न नसक्ने भएकाले बलियो कांग्रेस देशकै आवश्यकता रहेको बताए । उनले महाधिवेशन विवादमा नअल्झिनु आग्रह गर्दै भावनात्मक एकताको आह्वानसमेत गरेका छन् ।
टिप्पणीहरू