मधेशमा सरकारका लागि ‘मारामार’
मधेश प्रदेश सरकारका सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका पाँच जना प्रदेशसभा सदस्यले हाजिरी रेकर्ड मागेका छन् ।
सांसदहरू उर्मिला देवी सिंह, मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन कलवार र शारदाशंकर प्रसाद कलवारले कारवाहीसम्बन्धी प्रमाणित कागजात र हाजिरी रेकर्ड माग्दै सभामुखको सचिवालयमा निवेदन दर्ता गरेका हुन् ।
तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई होटलमा लगेर मुख्यमन्त्री नियुक्त गरेपछि शुरु भएको विवादले यतिबेला मधेशमा किचलो चर्किएको छ । विवाद उत्कर्षमा पुग्दा कारवाही र निष्कासनको सिलसिला चलिरहको छ ।
नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जसपा नेपाल, जनमतसहितका दलले सरकार गठन प्रक्रियाप्रति विरोध जनाउँदै आएका छन् भने अदालतमा मुद्दासमेत परिसकेको छ । होटलमा शपथ खुवाउने प्रदेश प्रमुख भण्डारी पदमुक्त भैसकेकी छन् ।
त्यसैक्रममा सात दलका सांसदहरूले एमालेबाट सभामुख बनेका मण्डलले पदीय आचरण अनुकूल काम नगरेको भन्दै उनलाई पदमुक्त गर्न हिजो प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रस्ताव दर्ता गराउने क्रममा एमाले कार्यकर्ता र सात दलका नेता, सांसदबीच हात हालाहालको स्थिति बन्यो ।
त्यसको केही समयपछि मण्डलले पनि प्रदेश सभाको बैठकमा निरन्तर दश पटकभन्दा बढी अनुपस्थित भएकाे कारण देखाउँदै जसपा नेपाल र जनमतका पाँँच सांसदलाई पदमुक्तको घोषणा गरे । तर, उपसभामुख बबिताकुमारी राउत ईशरले त्यसलाई बदर गरेकी छन् ।
आज एक छुट्टै सूचना निकालेर उनले सांसदहरूलाई पदमुक्त गर्नुपर्ने कुनै आधार नरहेको बताएकी हुन् । उपसभामुख राउतले सुरक्षा थ्रेटको कारण देखाउँदै प्रदेश सभा भवनभित्र रहेको सरकारी निवाससमेत छाडेको बुझिएको छ ।
टिप्पणीहरू