गुण्डुमा चार नेताबारे कठोर छलफल
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको नाममा पर्दा पछाडि अनेक चलखेल भैरहेको बताएका छन्।
पार्टी निकट प्रेस चौतारीको टोलीसँग आज आफ्नै निवास गुण्डुमा छलफल गर्दै उनले जेनजीहरूलाई उचालेर केही मान्छेले मुलुकमा पैसा नतिरेरै हेर्न मिल्ने तमासा चलाएको बताए ।
‘यो सरकारले सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई गिरफ्तार गर्ने भन्ने बुझेको छ’, ओलीले भने, ‘जेनजीहरूका नाममा कलाविहीन नाटक चलाइएको छ, राम्ररी थाहा छ जेनजीको नाममा मस्यौदा कसले लेखेको हो, कहाँ बोलाएर पढाइयो, त्यसमा लगानी गर्ने अर्गनाइजर को हो सबै थाहा छ, बिनापैसा तमासा हेर्न पाइएको छ ।’
उक्त भेटमा नेतृत्व पुनर्गठनको पक्षमा बहस चलाइरहेका केही नेताका सार्वजनिक अभिव्यक्तिबारे समेत छलफल भएको बुझिएको छ । बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र पोलिब्युरो सदस्य गोकुल बाँस्कोटाको नाम लिइएको स्रोतले जानकारी दिएको छ ।
यी चार नेताले सामाजिक सञ्जाल र मिडियामा नेतृत्वविरुद्ध बोल्दै हिँडेको भन्दै ओलीले असन्तुष्टि जनाएको बताइएको छ ।
तर, अध्यक्ष पाण्डेले भने आफूहरू सामान्य भेटघाटको लागि अध्यक्षकहाँ गएको बताउँदै छलफल कोहीविरुद्ध लक्षित नरहेको प्रतिक्रिया दिए । उनले जनआस्थासँग भने, ‘रिपोर्ट बुझाउन हैन, सामान्य भेटघाटको लागि गएका हौँ ।’
टिप्पणीहरू