अविवाहित युवतीको डेलिभरी त्यस्तैलाई उन्मुक्ति
सिन्धुपाल्चोकको मेलम्चीमा अविवाहित युवतीले अवैध क्लिनिकमा बच्चा जन्माएको विषय लुकाउन प्रशासनदेखि प्रहरीसम्म लागेको पाइएको छ । आमा र बच्चालाई माइती नेपालको संरक्षणमा पठाइएको छ भने घटनाको एक महिना हुन लागिसक्दासमेत अनुसन्धान शुरु भएको छैन । मेलम्चीकै एक २० वर्षीया दलित युवती जापान जानका लागि काठमाडौँस्थित काकीको कोठामा बसेर भाषा पढिरहेकी थिइन् ।
सोही क्रममा बोहोरा थरको एक युवकसँग प्रेम बस्यो । ‘लिभिङ टुगेदर’ बस्दै आएकोमा गर्भवती भइन् । काठमाडौंमै गर्भपतन गराउने प्रयास गरे । तर, सफल नभएपछि ती युवक औषधी खुवाएर भागे । युवती भने गर्भसहित माइती फर्किइन् । परिवार छोरीको गर्भपतन गराउनका लागि कात्तिक ६ गते स्थानीय शिवशक्ति पोलिक्लिनिक पुग्यो ।
गर्भ फाल्न गएकी उनले त्यहीँ छोरीलाई जन्म दिइन् । तर, शिशु लैजान मानिनन् । उनले नमानेपछि पोलिक्लिनिककी स्टाफ नर्स शान्ता जिरेलले बच्चा फ्याँक्ने क्रममा स्थानीयले समाते । उनलाई ईलाका प्रहरी कार्यालय, मेलम्ची पठाएपछि मात्र घटना बाहिर आएको हो । प्रहरीले घटनाको मुचुल्का उठाए पनि अहिलेसम्म छानबिन अगाडि बढाएको छैन ।
जसका कारण प्रहरीको नियतमाथि स्थानीयले शंका गरेका छन् । यता, जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रमुख एसपी रामेश्वर कार्कीले केटी पक्षले जाहेरी नदिएकाले अनुसन्धान अगाडि नबढेको बताए । जाहेरी दिनेबित्तिकै अनुसन्धान शुरु गरिने उनको भनाइ छ । जनआस्थासँग भने, ‘केटी पक्षले जाहेरी दिएको छैन । जाहेरी दिनेबित्तिकै अनुसन्धान अगाडि बढाइहाल्छौं ।’
त्यसैगरी, उनले ती युवती माइतीमै भएको बताए । जबकि, युवती र शिशुलाई माइती नेपालको संरक्षणमा राखिएको छ । यता, युवतीकी आमाले प्रहरीमा जाहेरी दिइसकेको बताइन् । भनिन्,‘प्रहरी र माइती नेपालमै जाहेरी दिइसकेका छौं । केटा तराईको हो । प्रहरीले खोजिरहेको होला, केही जानकारी दिएको छैन ।’ उनी पाँच सन्तानमध्ये जेठी हुन् ।
पढ्न पठाएको छोरी गर्भवती भएपछि परिवारमाथि बज्रपात आइलागेको छ । ‘सबैभन्दा ठूली छोरी उही हो । उसैले त्यस्तो गरिछ । केटाले औषधि खुवाएर पठाएको रहेछ । बच्चा म¥यो होला भनेर फाल्न गएको, जीवितै जन्मेपछि सिस्टरलाई छोडेर आएको हो । त्यसपछि त के भयो, थाहा भएन । प्रहरीले छोरीलाई लिएर गयो ।’ सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले घटनाबारे खासै जानकारी नभएको बताए । भन्छन्, ‘मलाई राम्रो त जानकारी छैन । तैपनि के रहेछ बुझ्छु ।’
स्टाफ नर्स जिरेलले भने आफूले बच्चा नफ्याँकेको दाबी गरिन् । उल्टै बच्चाको ज्यान जोगाएको उनको भनाइ छ । ‘मैले बच्चा फ्याँकेको होइन, ज्यान बचाएको हुँ । उनीहरूले लैजान नमानेपछि मैले राखेको हुँ । तर, त्यो नै मेरो सबैभन्दा ठूलो गल्ती भयो । ममाथि नभएको झुठ्ठो आरोप लगाइएको छ’,उनले भनिन् । मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ्गले घटनाको विषयमा थप बुझ्ने काम भइरहेको बताए ।
‘केटी यहीँको हो । काठमाडौंमा हुँदा त्यस्तो घटना भएछ । प्रहरीले मुचुल्का उठाएको छ क्यारे । घटनाबारे थप बुझिरहेको छु’,उनले भने ।
पोलिक्लिनिकलाई उन्मुक्ति
युवतीलाई सुत्केरी गराउने पोलिक्लिनिक अवैध भएको खुलेको छ । तर, सो क्लिनिक अहिलेसम्म बन्द गरिएको छैन । क्लिनिकका सञ्चालक सिन्धुली स्थायी ठेगाना भएका आनन्दप्रसाद दाहाल हुन् । सो क्लिनिकमा कूल सात जना कर्मचारी छन् । काठमाडौंकी डा. दिपु दाहाल, बाजुराका अहेब कविराज थापा, काठमाडौंकी फार्मासिस्ट जमुना श्रेष्ठ, ल्याब टेक्निसियन मिङमार तामाङ, असिस्टेन्ट फार्मासिस्ट पवित्रा ढकाल, स्टाफ नर्स शान्ता जिरेल र स्वीपर बधन थापा ।
आनन्दले सरकारबाट फार्मेसी सञ्चालनको अनुमति लिएर सुत्केरीसमेत गराउँदै आएका थिए । अनुमतिबिना ल्याब, एक्स–रे मेसिन चलाएको पाइएको छ । तर, अहिलेसम्म पनि पोलिक्लिनिकमाथि कुनै कारबाही नभएको स्रोतको जिकिर छ । स्रोतका अनुसार क्लिनिक अवैध भएको प्रमाणित भइसक्दा पनि प्रहरी प्रशासन र नगरपालिका आँखामा पट्टी बाँधेर बसेको हो । स्रोत भन्छ,‘पोलिक्लिनिक अवैध छ भन्ने कुरा सबैलाई थाहा भइसकेको छ । जनस्वास्थ्य कार्यालयले नै छापा मारेर सामानहरू जफत गरेको थियो । तर, अहिलेसम्म बन्द गरेको छैन । मज्जाले चलाइराखिएको छ ।’
सिन्धुपाल्चोककी जनस्वास्थ्य प्रमुख दुर्गा बजगाईँले उक्त पोलिक्लिनिकको दर्ता नै नभेटिएको बताइन् । जनआस्थासँग भनिन्, ‘हामीले त्यहाँ अनुगमन गर्यौं । उहाँहरूले फार्मेसीको दर्ता लिएर एक्स–रे, ल्याब चलाइरहनुभएको रहेछ, जुन गैरकानुनी हो ।’ फार्मेसी मात्र चलाएर अरु बन्द गर्नुभन्दा पनि नटेरेको उनको जिकिर छ । उक्त विषयमा जिल्ला प्रशासनसँग पनि छलफल गर्ने तयारी भइरहेको जानकारी दिइन् ।
जनस्वास्थ्यको अर्का एक कर्मचारीका अनुसार आनन्द दर्ता गर्नुको साटो नेतामार्फत दबाब दिँदै हिँडेका छन् । ‘नगरपालिका र जनस्वास्थ्य कार्यालयको प्रमुखले पटकपटक भनिसक्दापनि उनी दर्ता गर्न आएका छैनन् । बरु नेतामार्फत दबाब दिँदै हिँडेका छन्’,ती कर्मचारीले भने । स्टाफ नर्स जिरेलले उक्त पोलिक्लिनिकको दर्ता नभएकोबारे हालसालै जानकारी पाएको बताइन् ।
‘उहाँहरूले दर्ता छ भन्नुभयो, मैले काम गरिहालेँ । तर, अहिले पो दर्ता नै नभएको थाहा पाएँ’,उनले भनिन् । उक्त विषयमा बुझ्नका लागि आनन्दलाई पटकपटक फोन गर्दापनि सम्पर्क हुन सकेन ।
टिप्पणीहरू