एमाले कार्यकर्तालाई नसमातेसम्म सडक नछोड्ने अडान

एमाले कार्यकर्तालाई नसमातेसम्म सडक नछोड्ने अडान

कैलालीमा भएको जेनजी समूह र एमालेको भात्री संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताबीचको झडपपछि उत्पन्न तनावले तत्काल पूर्णविराम नपाउने संकेत देखिएको छ । 

जेनजी युवाले आक्रमणमा संलग्न युवा संघका कार्यकर्तालाई पक्राउ नगरेसम्म सडक नछाड्ने अडान लिएपछि यस्तो अवस्था बनेको हो । उनीहरूले आक्रमणमा एमाले कार्यकर्ताको संलग्नता रहेको दाबी गर्दै तत्काल कारवाही गर्न स्थानीय प्रशासनलाई दबाब दिइरहेका छन् । 

आज सिडिओ कार्यालयमा भएको छलफलमा जेनजी युवाले तत्काल कारवाही प्रक्रिया थाल्न आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आक्रमणकारीको पहिचान गरेर छिटै पक्राउ गर्ने प्रतिवद्धता जनाए पनि उनीहरू टसमस भएका छैनन् । 

यसबारे जनआस्थाले सिडिओ अधिकारीलाई सम्पर्क गरेर सोधेको थियो- घटनामा संलग्नलाई कहिले समात्नुहुन्छ ? ’ जवाफमा उनले भिडियो परीक्षण भइरहेको जानकारी दिए ।

‘जेनजी भाइ बहिनीहरूसँग संवादमै छौँ, हिजो पनि भयो, आज पनि भयो’,सिडिओ अधिकारीले भने, ‘उहाँहरूको मागलाई सम्बोधन गर्नकै लागि हामीले घटनाको फुटेजहरू संकलन गरेर दोषीलाई पहिचान गर्ने काम गरिरहेका छौँ, चाँडै पक्राउ पर्छन् ।’

युवा संघको कार्यक्रममा भाग लिन हिजो धनगढी पुगेका एमाले नेता महेश बस्नेतविरुद्ध स्थानीय युवाहरूले शान्तिपूर्ण प्रदर्शन गरेका थिए । सोक्रममा संघका कार्यकर्ताले जेनजीमाथि आक्रमण गरेपछि झडप भएको थियो । झडपमा सरिता जोशी, बबिता जोशी, गोपाल बाहेरा लगायतका युवा घाइते भएका छन् । 

बस्नेतको भड्किलो अभिव्यक्तिका कारण पछिल्लो समय जेनजी युवा आक्रोशित बन्दै गएको देखिन्छ । अघिल्लो साता जेनजी र एमालेका स्थानीय कार्यकर्ताबीच सिमरामा पनि झडप भएको थियो । जसका कारण दुई दिनसम्म त्यहाँको अवस्था तनावग्रस्त रह्यो । 

केही दिनअघि बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयाससमेत भएको थियो ।

टिप्पणीहरू