प्रतिनिधिसभा बैठक शुरु, दुईवटा प्रतिवेदन पेश हुने

प्रतिनिधिसभा बैठक शुरु, दुईवटा प्रतिवेदन पेश हुने

भर्खरै शुरु भएको प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा प्रतिवेदन पेश हुँदैछ । आजको बैठकमा लोकसेवा आयोग र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्रीले लोकसेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन र राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । त्यस्तै, संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची समेत आजैको बैठकमा रहेको सचिवालयले जनाएको छ ।

दलहरुबीच सहमति नहुँदा पुनःस्थापित प्रतिनिधिसभाको वैठक प्रभावित हुँदै आएको छ । अधिवेशन प्रारम्भ भएको पहिलो बैठकमै संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताले सम्बोधन गर्ने अभ्यास यसपटक प्रभावित भएको छ । अधिवेशनको तेस्रो बैठकसम्म आइपुग्दा पनि शीर्ष नेताले सम्बोधन गरेका छैनन् ।

पहिलो बैठकमा सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश गरेको थियो । तर सत्तारुढ दलकै केही सांसद र प्रतिपक्ष नेपाली काँग्रेसले दलीय सहमति बेगर विवादित अध्यादेश पेश गरेको भन्दै संसद अवरुद्ध पारेका थिए । त्यसपछि बसेका दुई वटा बैठकमा पुनः अध्यादेश पेश गरिएको छैन ।

टिप्पणीहरू