कर्मचारीको वृत्तिविकासमा बाधा

कर्मचारीको वृत्तिविकासमा बाधा

सरकारले लोकसेवा आयोगमा पदाधिकारी नियुक्त नगर्दा आयोगको कामकारवाही प्रभावित हुने देखिएको छ । पदाधिकारीबिहीन हुँदा निजामती प्रशासनको सम्पूर्ण काम रोकिने अवस्था आएको भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ ।

२०७१ चैत्र ११ गते नियुक्त सबै पदाधिकारीको पदावधि आजदेखि सकिदैछ । हिजो पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष उमेश मैनालीले आयोग पदाधिकारीबिहीन हुँदा गम्भिर असर पर्ने बताए । आयोगमा पदाधिकारी नहुँदा बढुवा प्रक्रिया, परीक्षाहरु र नतिजा प्रकाशनका काम रोकिने उनको भनाइ छ । यस्तै सरकारी उच्च पदका बढुवा र अन्तरवार्ताहरु पनि रोकिने अवस्था छ ।

अध्यक्ष मैनालीले सरकारले समयमै पदाधिकारी नियुक्त गर्ने विश्वास व्यक्त गरे । स्व. सुशील कोइराला नेतृत्वको सरकारले आयोगमा अध्यक्ष मैनाली सहितका पदाधिकारी नियुक्त गरेको थियो ।

आयोगले कर्मचारीहरुको बढुवामा आन्तरिक र खुला प्रतियोगितामा विभेद हुने गरेको पनि बताएको छ । अध्यक्ष मैनालीले सेवामा रहेको व्यक्तिले खुला प्रतिस्पर्धामा आउने योग्य व्यक्तिभन्दा बढी सुविधा पाउने गरेको बताए । निजामती सेवा ऐनमा भएको व्यवस्थाले सेवामा निरन्तर रहेको व्यक्तिलाई उमेरको हदमा छुट दिएको तर त्यही पदमा खुलाबाट प्रतिस्पर्धा गर्नेलाई ३५ वर्षको उमेर हद रहेको उनको भनाइ छ ।

उनले संघीय संसदमा विचाराधीन विधेयकमा विभेद हटाउन आयोगले सुझाव दिएको पनि जानकारी दिए ।

टिप्पणीहरू