स्थानीय तहलाई खर्च गर्नै सकस

स्थानीय तहलाई खर्च गर्नै सकस

विनियोजित बजेट खर्च गर्न नसक्दा स्थानीय सरकारको प्रभावकारितामाथि नै प्रश्न उठिरहेका बेला कैलालीका स्थानीय तहमा दोस्रो चौमासिकसम्म न्यून बजेट खर्च भएको देखिएको छ । केही स्थानीय तहमा भने योजना शुरुसमेत हुन सकेको छैन ।

कैलालीका १३ वटा स्थानीय तहले चालु आर्थिक वर्ष पर्याप्त बजेट खर्च गर्न नसकेका हुन् । कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीका अनुसार दोस्रो चौमासिकमा स्थानीय तहको खर्च ३६ दशमलब ६ प्रतिशत मात्र भएको छ । सबैभन्दा बढी कैलारी गाउँपालिकाले ४३ दशमलब ११ प्रतिशत खर्च गरेको छ भने सबैभन्दा कम गोदावरी नगरपालिकाले ३० दशमलब ३९ प्रतिशत खर्च गरेको छ ।

यस्तै, धनगढी उपमहानगरपालिकाले ३६ दशमलब १५ प्रतिशत, गौरीगंगाले ३९ दशमलब ६१ प्रतिशत, घोडाघोडीले ३४ दशमलब ५८ प्रतिशत र टिकापुरले ३५ दशमलब ७ प्रतिशत बजेट खर्च गरेका छन् । भजनीले ३८ दशमलब ५४ प्रतिशत र लम्कीचुहा नगरपालिकाले ३९ दशमलब ४६ प्रतिशत खर्च गरेका छन् ।

गाउँपालिकाहरुमा चुरेले ३४ दशमलब ६० प्रतिशत, जानकीले ३१ दशमलब ४२ प्रतिशत, जोशीपुरले ३९ दशमलब ६७ प्रतिशत, बर्दगोरियाले ३१ दशमलब २३ प्रतिशत र मोहन्यालले ३७ दशमलब ६६ प्रतिशत खर्च गरेको कोष नियन्त्रक जगतप्रकाश भट्टले जानकारी दिए ।

प्रत्येक वर्ष दोहोरिइरहेको असारे विकासका कारणले पनि समयमै बजेट खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयले बताएको छ । यही गतिमा पालिकाहरूले बजेट खर्च गरेमा लक्ष्य पूरा गर्न कठिनाइ हुने भट्टले बताए ।

टिप्पणीहरू