साना जुट्दै, पुरानाचाहिँ फुट्दै

साना जुट्दै, पुरानाचाहिँ फुट्दै

देशको सबभन्दा ठूलो पार्टी दोस्रोचोटि फुट्नै लाग्दा एउटा सानो पार्टी भने दोस्रोचोटि जुटिरहेको छ ।

०४७ सालदेखि जनताको मुख–मुखमा झुण्डिएको ‘एमाले’ नामको ठूलो कम्युनिष्ट पार्टी विभाजनको संघारमा पुग्नै लाग्दा संसदमा शून्य उपस्थिति भएको विवेकशील साझा भने सशक्त बन्ने उद्देश्यसाथ दोस्रोपटक एकीकृत भएको छ । रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीसँग विवेकशील नेपालीको एकता प्रक्रियालाई निर्वाचन आयोगले ६ गते शुक्रबार टुंग्याएको छ ।

उता, गोपाल किराँतीले व्युँताएको माओवादी केन्द्र सर्वोच्चको फैसलाका कारण फेरि प्रचण्ड नेतृत्वकै भएको छ । आफ्नो अस्तित्व मेटिएकोमा किराँती अदालत नजाने बरु नयाँ पार्टी दर्ताको तयारी गर्दैछन् ।
त्यस्तै, नेकपा (एमाले) दर्ता गरेकी सन्ध्या तिवारीले नाम फेर्न निर्वाचन आयोगबाट फारम लगेकी छन् । उनले केन्द्रीय समितिको निर्णय गराएर नाम, झण्डा अर्को बनाउनुपर्ने छ ।

त्यस्तै, केपी ओली नेतृत्वको एमालेले २३ गते सर्वोच्चले दिएको ०४७ जेठ ३ अगाडिकै अवस्थामा फर्कने आदेश विपरित फागुन २८ गते विधान संशोधन र नेतृत्व परिवर्तन गरेपछि उक्त निर्णय कार्यान्वयन नगरियोस्, अभिलेखिकरण नहोस् भन्नका लागि माधवपक्षीय नेता राजेन्द्र पाण्डेहरु निर्वाचन आयोग गए । तर, ओली पक्षले केन्द्रीय समिति थप गरेको कुरा अभिलेखिकरणका लागि नदिएका कारण आयोग त्यो विषयमा प्रवेश गरेको छैन ।

अदालतको आदेशका कारण पुरानो अवस्थामा गएको पार्टीलाई विधान तोडमरोड गरी कसैलाई अनुशासनको कारबाही त कसैलाई पदच्युत गरिएपछि तिम्रो फैसला कार्यान्वयन नगरिएकोमा अवहेलना भयो भएन, अब के गर्छौ भनी सर्वोच्चमा अर्को मुद्दा पर्ने सम्भावना देखापरेको छ ।

टिप्पणीहरू