जमिन बाँड्दै सरकार

सरकारले ७७ वटै जिल्लामा सुकुम्बासीहरुलाई जमिन दिने काम अगाडि बढाएको जानकारी दिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले संविधानले नै भूमिविहीनहरुलाई भूमि उपलब्ध गराउने भनेकाले सोहीअनुसार नियम कानुन बनिसकेको र जमिन दिने काम अगाडि बढेको बताउनुभयो ।

कीर्तिपुरस्थित पाँगा बालकुमारी क्षेत्रका बासिन्दालाई लालपुर्जा वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै तुम्बाहाङ्फेले भूमिहीन र अव्यवस्थित बसोबास गर्ने नागरिकहरुको समस्या समाधानमा सरकार गम्भिर रहेको बताउनुभयो । उहाँले भूमि नभएकाहरुलाई भूमिको व्यवस्था गरिने प्रष्ट पार्नुभयो ।

कीर्तिपुर पाँगा बालकुमारी गाउँ ब्लकमा जम्मा ५ सय ६७ कित्तामध्ये ५६ कित्ता सार्वजनिक र ५ सय ११ कित्ता व्यक्तिको नाममा छुट्टिएको छ । जसमध्ये अहिले ३ सय ८ कित्ता व्यक्तिको र ५६ कित्ता नेपाल सरकारको नाममा दर्ता गरी ६४ प्रतिशत दर्ता कार्य सम्पन्न भइसकेको छ । यस क्षेत्रमा ३.४ हेक्टर अर्थात् ६६ रोपनी १२ आना १ पैसा २ दाम जमिन रहेको छ ।
२०२१-२२ सालमा एकसरो नापीबाट नापनक्सा गर्न छुटेको थियो । यो गाँउको चारैतिरको नक्सालाई भिडाउँदा वस्तिका रुपमा २०७२ सालमा पाँगा बालकुमारीमा नाप नक्सा भएको थियो । २०७४-०७५ मा नक्सा श्रेस्ता तयार गरी दर्ता प्रक्रियामा गएको र २०७५ असोज २१ गते ७ दिने सूचना र २०७५ पुस १५ गते २१ दिने सूचना जारी गरेर २०७७ माघ ७ गते गाउँसम्बन्धी निर्देशिका जारी भएको थियो ।

त्यसपछि २०७७ माघ १५ देखि व्यक्तिको नाममा जग्गा नामसारी गर्ने कार्य शुरु भएको हो ।

टिप्पणीहरू