छोटेराजाहरु सेनामा अझै छरपस्ट
नेपाली सेनाभित्र आर्थिक स्वच्छताको अभियान संचालन गरिरहनुभएका पूर्णचन्द्र थापा प्रधानसेनापति रहेकै बेला त्यहाँ हुने बेथितिलाई लिएर तल्लो तहका सैनिक कर्मचारीले असन्तुष्टि पोखेका छन् । सेनाको प्राविधिक क्षेत्रमा कार्यरत कर्मचारीहरुले त्यहाँभित्र हुने आर्थिक अनियमितता र घुसकाण्डको शिकार हुनुपरेको गुनासो गरेका हुन् ।
त्यसो त सेनाभित्र हुने आर्थिक अनियमितताका कुरा नयाँ होइनन् । तर,पद बहाली गरेदेखि नै प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनभित्र हुने भ्रष्टाचार रोक्न कडा कदम चाल्ने बताउनुभएको थियो । आफैंबाट सम्पत्ति सार्वजनिकीकरणको सुरुआत गर्दै उहाँले सेनाभित्रको आर्थिक सुधारलाई मूर्तता दिने प्रयास थाल्नुभएको थियो । तर, प्रधानसेनापतिले थालेको अभियानले सेनाभित्रको आर्थिक अनियमितता रोक्न नसकेको तल्लो तहका सैनिक कर्मचारी बताउँछन् ।
“सेवा नगरी आफ्नो काम हुँदैन । त्यसैले खसीको मासु, बदाम,काजु,सिजनअनुसारको फलफूल घरमा नै लिएर जानुपर्छ’, पीडा पोख्दै उनीहरुले भने ।”
सेनाको हेडक्वार्टर नजिकै रहेको मर्मत तथा सम्भार पल्टनमा हुने आर्थिक अनियमितता र घुस मोलमोलाईवारे त्यहाँ कार्यरत कर्मचारीले खुलासा गरेका छन् । प्राविधिक सुबेदारहरुले सरुवा-बढुवामा खुलमखुल्ला घुस माग्ने गरेको उनीहरुको आरोप छ । वीरेन्द्र यान्त्रिक सेवा निर्देशनालयको रेकर्ड शाखामा दरवन्दी भएका सुबेदारहरु पदमबहादुर श्रेष्ठ,देउबहादुर थाम, कमल ढुंगेलको नामै तोकेर उनीहरुले प्राविधिक पदिक तथा बिल्लादारको सरुवा,बढुवामा घुस माग्ने र घुस नदिए काम नगर्ने गरेको दु:खेसो पोखे ।
त्यस्तै, विदेशी तालिम तथा शान्तिसेना छनोटमा पनि घुसको मोलमोलाई हुने गरेको उनीहरुको गुनासो छ । ‘पैसाको मोलमोलाइ हुन्छ । पैसा बैंकमार्फत पठाउन लगाउँछन् । मागेको रकम नदिए पूर्वको पश्चिम तथा पश्चिमको पूर्व सरुवा गरिदिन्छन्’,पीडा पोख्दै उनीहरुले भने ।
माघ महिनामा सरुवा-बढुवा भएका पोखरा इलेक्ट्रिकल तथा मेकानिकल इन्जिनियरिङ गणमा कार्यरत प्राविधिक सुबेदार भवानीप्रसाद च्वाईले घुस खुवाएरै आफ्नो सरुवा यथावत राखेको उदाहरण दिंदै उनीहरुले भवानीको बैंक डिटेल हेरेर कति पैसा पठाएको रहेछ जानकारी लिन आग्रह पनि गरे । घुस खाने र खुवाउने सुबेदारहरुलाई तुरुन्तै निलम्बन गरी कारबाही हुनुपर्ने उनीहरुको माग छ ।
यान्त्रिक सेवा केन्द्रको विभिन्न ट्रेडअन्तर्गत आरमोर शाखाका सिनियर सुबेदार नरेशबाबु ढकालले पैसा नपाए बिदा सिफारिस नगर्ने गरेको उनीहरुको दाबी छ । सुवेदार ढकालले घुस नदिने र मन नपरेकालाई दु:ख दिने गरेको उनीहरुले गुनासो गरे । आफ्नो समस्या हल गर्नका लागि बाध्यताले ढकालको घरमा कोसेली बोकेर जानुपर्ने बाध्यता समेत सुनाए । ‘सेवा नगरी आफ्नो काम हुँदैन । त्यसैले खसीको मासु, बदाम,काजु,सिजनअनुसारको फलफूल घरमा नै लिएर जानुपर्छ’, पीडा पोख्दै उनीहरुले भने ।
उनीहरुका अनुसार सेवा नगर्ने (घुस नदिने) कर्मचारीलाई परिवारका सदस्य बिरामी हुँदासमेत छुट्टी पाउन कठिन छ । सुवेदार ढकालले महिला कर्मचारीलाई समेत दु:ख दिएको उनीहरुको दाबी छ । त्यहाँ कार्यरत महिलाका श्रीमानको मृत्युपश्चात् पनि दु:ख दिएर विभिन्न युनिटमा सरुवा गरिदिएको भन्दै उनीहरुले पीडक सैनिक कर्मचारीलाई छानबिन र कारवाहीको माग गरेका छन् ।
घुस नखाई कामै नगर्ने प्रवृत्ति मौलाउँदै जाँदा सेनाको गौरवमय ईतिहास नै बद्नाम हुने खतरा बढेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् । नाम उल्लेख नगर्ने शर्तमा आफूलाई पीडित प्राविधिक बिल्लादार भन्नेहरुले दाबी गरेका छन्, ‘केही व्यक्तिले आफ्नो स्वार्थलाई केन्द्रमा राखेर सिङ्गो फौजलाई दुषित बनाउन खोजेका छन् । त्यस्ता व्यक्तिलाई छानविन र कारवाही गर्न माग गर्दछौँ ।’
टिप्पणीहरू