अलमलमा महन्थ,चक्रब्युहमा राजनीति
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा नयाँ गठबन्धन बन्ने चर्चा चलेको डेढ महिना नाघिसक्दा पनि त्यसले मूर्त रुप लिन सकेको छैन । नेपाली काँग्रेस,माओवादी केन्द्र र जसपा तीनै वटा दलले एक अर्काको कारण नयाँ गठबन्धन बन्न नसकेको आरोप लगाएका छन् । सबैभन्दा धेरै आरोप जसपा र उसका अध्यक्ष महन्थ ठाकुरमाथि लागेको सन्दर्भमा उहाँले ‘हाम्रो कारणले होइन’ भन्नुभएको छ ।
प्रधानमन्त्रीसँग बाक्लै हिमचिम देखाएको र ओली सरकार टिकाउन कम्मर कसेर लागेको भन्ने आरोपमा अहिले भन्नुभएको छ ‘उहाँ सत्तामा हुनुहुन्छ,अरु सत्तामा छैन,उहाँको हातमा सत्ताको बागडोर भएको हुनाले गर्नसक्ने अवस्थामा हुनुहुन्छ । त्यसकारण उहाँसँग कुरा भइरहेको छ ।’
अरुसँग पनि कुरा भइरहेको सन्दर्भ जोड्दै ठाकुरले ‘उहाँहरूलाई पनि मैले त्यही भनेको हो । प्रधानमन्त्रीले भेटमा प्रष्टै गर्नुभो कि म राजिनामा गर्दिनँ, विश्वासको मत अथवा अविश्वास आफ्नो पक्षमा नआएमा ताजा जनादेशतर्फ जाने निर्णयचाहिँ सुनाउनुभो । उहाँको उक्त धारणा जायज छ ।’
वार्ताको क्रममा प्रधानमन्त्रीले आफ्ना माग पूरा गर्नेतर्फ सोचेको भनेर जानकारी दिनुभएको ठाकुरले बताउनुभएको छ । उहाँले त्यसबखत सक्नेजति गर्दिन्छु भन्नुभएकोले त्यो भन्दाबढी त्यहाँ केही कुरा नभएको उहाँको दाबी छ । ठाकुरले प्रष्ट पार्दै भन्नुभयो ‘खासै कुरा केही भएको छैन । लुकाएर छिपाएर भन्नु आवश्यक छैन । भेटमा आफूहरू पाँच जनामध्ये चारैजना गएका थियौँ । हामी सबैको एउटै भ्वाइस थियो ।’
प्रधानमन्त्रीलाई आफूहरूले पहिला तपाईं त्यो गर्नुस् (रेशमलाई रिहा) त्यसपछि हामी निर्णय गर्छौं भनेको उहाँले उल्लेख गर्नुभएको छ । आफूहरूले आफ्नो मुद्दासँग सम्बन्धित रहेर कुरा गरेको पनि उहाँको दाबी छ । भन्नुहुन्छ-त्यसबाहेक केही बोलेका छैनौं । सत्ता समीकरणको बारेमा केही छलफल भएको पनि छैन ।
सत्तामा रहँदा आफ्नो दलको माग पूरा गर्नेतर्फ कुनै पनि पार्टीले पहल नगरेको ठाकुरको आरोप छ । ‘उहाँहरूले गर्दा हामी सँधै अप्ठ्यारोमा छौं,’ ठाकुरले उल्लेख गर्नुभयो ‘कहिलेकाँही उहाँहरू आफैँ मिल्नुहुन्छ अनि परेको बेलामा हामीलाई घचेट्नुहुन्छ । त्यसैले हामीले त्यसतर्फ चासो दिएका छैनौं ।’
माओवादी केन्द्र र अध्यक्ष प्रचण्डप्रति आक्रोश पोख्दै अध्यक्ष ठाकुरले भन्नुभएको छ ‘यहाँ हतियार उठाउनेहरू सरकार र प्रधानमन्त्रीसम्म पुगे । अस्ति प्रचण्डजीले आफूमाथि मुद्दा भएकाले तपाईंजस्तै म पनि पीडित छु भन्नुभयो । उहाँविरुद्धको मुद्दाले उहाँलाई प्रधानमन्त्री बन्न अवरोध गरेन ।
तर हामीहरूमाथिको मुद्दाको कारण हाम्रा साथीहरू जेलमा छन्, रेशम चौधरी जेलमा छ, । हाम्रा मन्त्रीहरू तारिख बोकिराख्या छन् । हाम्रो समस्याको समाधान नै भएन ।’
टिप्पणीहरू