किन चुहाए यामलाल कँडेलले हिजो छिमेकीको प्रसंग ?

किन चुहाए यामलाल कँडेलले हिजो छिमेकीको प्रसंग ?

शुक्रबार अपरान्ह कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिनको लागि बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता यामलाल कँडेल लगत्तै आफूलाई मुख्यमन्त्री बन्ने बाटो खुल्ने आशमा ढुक्कसाथ प्रस्तुत भएका थिए । उनको हिजोको भाषणले मुख्यमन्त्रीभन्दा पनि वेटिङ प्रधानमन्त्रीको झल्को दिएको थियो ।

२० मिनेट लामो भाषण गरेका कँडेलले बीचतिर विना प्रसंग छिमेकीको कुरो उठाएका थिए । एमालेबाट नेकपा र नेकपाबाट एमाले तथा माओवादी केन्द्रमा रुपान्तरण भएको सन्दर्भसँगै शाही सरकार ढल्न खोजेको आशयमा उनले छिमेकी भनेर मित्रराष्ट्रतर्फ संकेत गरेका थिए । अरु प्रदेशको चीन र भारत दुवैतर्फ सीमा जोडिए पनि कर्णाली प्रदेशको भने चीनसँग मात्र सीमा जोडिएको छ । लुम्बिनी र प्रदेश नम्बर २ काे भने भारतसँग मात्र जाेडिएकाे छ ।

उक्त प्रदेशको राजनीतिक फेरबदल तथा परिवर्तनमा छिमेकीको संलग्नताबारे कुरो उठाउँदा सबैले चीनलाई बुझ्ने अवस्था रहन्छ । तर, उनको आशय कतातर्फ लक्षित थियो भनेर आँकलन गर्ने राजनीतिक विश्लेषकहरूले आफ्नै ढंगले व्याख्या गरेका छन् ।

उनले हिजो गरेको भाषणको एक ठाउँमा यसो भनिएको छ ‘हो हामीले संगठनका कतिपय कामलाई व्यवस्थापन गर्दा कतिपय समस्याहरू देखिने गरी प्रकट भएका छन् । म त्यसलाई अस्वीकार गर्न चाहन्नँ । तर, त्यसमा हाम्रो दिलचस्पी हुनुपर्ने हो तर अलि परको साथीको दिलचस्पी देखिरहेको छु । आफ्नो घरको व्यवस्थापन आफैँ गर्ने कुरो गर्नुभयो भने सुदृढ हुन्छ, छिमेकीको सम्बन्ध पनि राम्रो हुन्छ ।

तर घरभित्रको भन्दा छिमेकीतिर गर्दा घर पनि बिग्रन्छ,छिमेकीको सम्बन्ध पनि बिग्रन्छ । म फेरि पनि स्वीकार गर्छु एमालेभित्रको सांगठनिक समस्या जनताले देख्ने गरी नै प्रकट भएका छन् । त्यसको हामीले समाधान गर्छौं ।’

टिप्पणीहरू