अदालतको आदेश एकातिर, पत्रकार गिरफ्तारी अर्कातिर
अदालतको आदेशविपरित उज्यालो नेटवर्कका दुई पत्रकार पक्राउ परेका छन् । बैशाख ९ गते उच्च अदालत पाटनले उज्यालो नेटवर्कका पत्रकारमाथि धरपकड नगर्न अन्तरिम आदेश दिएको थियो । तर, kआज उज्यालो अनलाइनका पत्रकार अनिश तामाङ र डिएल लामालाई पक्राउ गरिएको हो ।
काठमाडौँ प्रहरी परिसरका प्रमुख अशोक सिंहले भने पत्रकार तामाङ र लामाविरुद्ध फौजदारी अभियोगमा मुध्दा लगाउने तयारी भैरहेको बताउनुभयो । ‘अदालतबाट उहाँहरुले स्टे अर्डर ल्याए पनि फौजदारी अभियोगमा समातिनुभएको हो । अस्तिको मुध्दा र आजको घटना फरक हो’, उहाँले भन्नुभयो ।
उज्यालो अनलाइनले बैशाख २ गते ‘रअ प्रमुख र ओलीबीच लिपुलेकको कुरा नउठाउनेदेखि एमसीसीमा मोदीले सघाउनेसम्मको सहमति (पत्रसहित)’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो । उक्त समाचार सम्प्रेषण भएलगत्तै प्रहरीले उज्यालो नेटवर्कको कार्यालयमा छापा मारेको थियो । प्रहरीको खानतलासीपछि कार्यालय बन्द गरेर संचालक र सम्पादक सम्पर्कबिहीन भएका थिए ।
प्रहरीको धरपकडविरुद्ध उज्यालो नेटवर्कका तर्फबाट अनिलकुमार राउतले उच्च अदालत पाटनमा रिट हालेका थिए । निवेदकको मागबमोजिम अदालतले धरपकड नगर्न अन्तरिम आदेश दिएको थियो ।
टिप्पणीहरू