श्रीमान, श्रीमती भएर नियम उल्लंघन

श्रीमान, श्रीमती भएर नियम उल्लंघन

एक समय थियो, राजाहरुलाई मन लागेपछि जे पनि गर्न छुट हुन्थ्यो । समयक्रमसँगै राजा र राजतन्त्र ईतिहास बन्यो, देशमा लोकतन्त्र, गणतन्त्र आयो । तर,राजकीय ठाँट र शैली झन बढेको छ । अहिले जनताका प्रतिनिधि भनिएकाहरु नयाँ रुपको राजा बनेर आएका छन् । उतिबेलाका राजा महाराजा र अहिलेका शासकका आचरण, व्यवहार र कार्यशैली उस्तै देखेपछि गणतन्त्रमा पनि राजाको झल्को आउने रहेछ ।

कम्युनिष्ट पार्टीका नेता सिद्धान्तअनुसारको आचरणमा चल्छन् भन्ने मान्यतालाई यिनै नयाँ राजाहरुले भ्रमपूर्ण बनाइदिएका छन् । राजर्षी ठाँटसहित केही महिनाअघि मात्र विवाह बन्धनमा बाँधिनुभएका प्रदेश नं १ का मुख्यमन्त्री तथा सरकारी एमालेका नेता शेरधन राईको राजर्षी ठाँट एउटा उदाहरण हो । यस्ता थुप्रै उदाहरण छन् ।

नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा राईकी श्रीमती जाङ्ग्मु शेर्पालाई पहिलो लहरमै अतिथि बनाएर राखिएपछि एमालेका कार्यकर्ताले पार्टीमा उनको हैसियतमाथि प्रश्न उठाएका छन् ।

राई मुख्यमन्त्री भएको प्रदेश १ मा अझैपनि दुई छाक टार्न धौधौ पर्ने अवस्थाबाट बाँचिरहेकाहरु धेरै छन् । शोषित पीडित सर्वहारा जनताको मुक्तिको लागि कम्युनिष्ट आन्दोलनमा होमिनुभएका राईले एलिस फुडल्याण्डमा बिबाहको भव्य रिसेप्सन पार्टी दिँदा कम्युनिष्ट सिद्धान्त कता पन्छियो त्यो उहाँलाई नै थाहा होला, तर देख्नेले चैं निधार खुम्च्याए । त्यतिमात्र हो र, सर्वहाराका नेता हेलिकप्टर चार्टर गरेर ससुराली गएको फोटो मिडियामा छरपस्ट हुँदा कम्युनिष्ट आन्दोलनलाई नै भविष्य देखेर होमिएका युवाहरुले के सोचे होलान् !

बालिका खड्का भन्ने एक युवतीले यौन अत्याचारको आरोप लगाएपछि तनावमा पर्नुभएका मुख्यमन्त्री राई हिजो फेरि त्यस्तै, राजर्षी ठाँटमा श्रीमतीसहित औपचारिक कार्यक्रममा झुल्किनुभयो । भोजपुर-काठमाडौँ सम्पर्क मन्चद्वारा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा राईकी श्रीमती जाङ्ग्मु शेर्पालाई पहिलो लहरमै अतिथि बनाएर राखिएपछि एमालेका कार्यकर्ताले पार्टीमा उनको हैसियतमाथि प्रश्न उठाएका छन् ।

त्यतिमात्र होइन, कोरोना संक्रमण बढ्दै गएका बेला स्वास्थ्य प्रोटोकल मिचेर भीडभाडसहित कार्यक्रम आयोजना गरिएकोमा पनि आलोचना भएको छ । कार्यक्रममा राई दम्पत्ति मास्क बिना नै मन्चमा बसेका छन् । संघीय सरकारले २५ जना भन्दा बढी एकै ठाउँमा भेला नहुन गरेको उर्दीलाई मुख्यमन्त्री दम्पत्तिले बेवास्ता गरेका छन् ।

कोरोना महामारी नियन्त्रणमा सर्वसाधारण जिम्मेवार नबनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली रुष्ट हुनुहुन्छ । उहाँले सार्वजनिक रुपमै भीडभाड नघटे फेरि लकडाउन हुने चेतावनी दिँदै आउनुभएको छ । तर, प्रधानमन्त्री ओलीको विश्वासपात्रसमेत रहनुभएका मुख्यमन्त्री राई त्यत्रो भीडभाडको कार्यक्रममा प्रमुख अतिथि बनेर गएपछि ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने नेपाली उखानलाई सम्झाइदिएको छ ।

त्यसो त कोरोना महामारी बढिरहेका बेला मुख्यमन्त्री राईले कोभिड प्रोटोकल मिचेर विराटनगरमा होली विशेष कार्यक्रममा सहभागी भएपछि चौतर्फी आलोचना भएको थियो । ठूलाबडा, सत्ता र शक्तिमा हुँदा जे गरे पनि हुने भएपछि हिजोका राजा र आजका जनप्रतिनिधिबीच के फरक भयो र भन्ने प्रश्न उठ्नु अस्वभाविक हो र ?

टिप्पणीहरू