माधव नेपालमाथि गुरुको सत्तोसराप
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीइतर नेताहरुलाई भित्तामा पुग्नेगरी फेसबुकमा लेखेबापत पुरस्कृत भै रेल कम्पनीको जीएम बनेका गुरु भट्टराईले माधव नेपाल पक्षका नेतालाई लौरो लगाउनुपर्ने अराजक टिप्पणी गरेका छन् ।
नेपाल समूहका नेतालाई पशुको संज्ञा दिँदै उनले हरियो घाँस देखाएर लौरोले हान्नुपर्ने बताएका हुन् । नेता नेपालसहित सो पक्षका चार नेतामाथिको कारवाही फुकुवाको निर्णयप्रति टिप्पणी गर्दै उनले पशुलाई जस्तै हरियो घाँस देखाएर लौरोले हान्नुपर्ने बताएका हुन् ।
उनले लेखेका छन्,’पशुलाई बेस्सरी लौरोले दनक दिनु छ भने घरी घरी हरियो घाँस देखाएर नजिक बोलाउनुपर्छ अनि हान्नुपर्छ मच्चिएर । चार थान पशुलाई हरियो घाँस देखाइएछ, खाने भए दह्रोसँग लौरो !’
विपक्षी गठवन्धनलाई सरकार बनाउन सघाउने गरी नेपाल समूहका सांसदहरुले दिन लागेको सामूहिक राजीनामा रोक्न प्रधानमन्त्री ओलीले हतार हतार पार्टीको बैठक राखेर कारवाही फुकुवाको निर्णय गरेका थिए । ओली पक्षका कतिपय नेताले कारवाही फुकुवाको निर्णय नमान्ने बताइरहेका बेला ओलीलाई बा भन्ने भट्टराईले त्यस्तो अराजनीतिक टिप्पणी गरेका हुन् ।
यसअघि ओलीपक्षीय विद्यार्थी संगठनका अध्यक्ष एन महरले पनि कारवाही फुकुवा नमान्ने चेतावनी दिएका थिए ।
टिप्पणीहरू