खोप पर्यटन: गरिबलाई हर्ष न विस्मात
–कौशल चेम्जोङ
विश्व कोभिड १९ ले आक्रान्त भएका बेला चतुरहरुले यसैलाई उपयोग गर्दै ‘खोप पर्यटन’ (भ्याक्सिन टुरिज्म) को सुरुवात गरेका छन् । यो खोप पर्यटन गत डिसेम्बर महिनादेखि शुरु भएको हो । नेपालका पर्यटन व्यवसायी थाप्लोमा हात राखेर बसेका बेला भारतलगायत अन्य देशका पर्यटन व्यवसायीहरु भने मालामाल हुने तयारीमा छन् ।
यो खोप पर्यटन गरिबका लागि ‘बेल पाक्यो कागलाई हर्ष न विस्मात’ भनेजस्तै हो । किनभने गरिवहरुको पहुँचमा यो कोभिड १९ बाट सुरक्षित हुँदै मोज गर्ने पर्यटन रहेको देखिन्न । कम्तिमा पनि यो पर्यटनको लागि नेपाली एक लाख पैँसठ्ठी हजारदेखि अढाइ लाखसम्म खर्चिनुपर्ने हुन्छ ।
के हो खोप पर्यटन ? यो पर्यटनको नयाँ आयाम हो । सोझो अर्थमा बुझ्दा कोभिड १९ को खोप उत्पादन गर्ने देशहरुमा गएर खोप लगाई सुरक्षित हुने र ऐशआराम गर्ने उद्देश्य बोकेको भ्रमणलाई खोप पर्यटन भनिन्छ ।
गत डिसेम्बर महिनामा कोभिड १९ को भ्याक्सिन बनेपछि संयुक्त अधिराज्य (युके) मा गएर यो खोप लगाउने र धुमधामका साथ घुमघाम गर्ने चलन शुरु भएको मानिन्छ । त्यसपछि अहिले रुस खोप पर्यटनको गन्तव्य बन्न पुगेको छ ।
खोप पर्यटकहरुको लागि जर्मनको फिट रेसेँ (फिट ट्रावल),अष्ट्रेलियन कम्पनी इम्फ्रेसेन,भारतीय जेनिथ होलिडे कलकत्ता,जेम टुर्स एण्ड ट्राभल्स मुम्बई,केरियट वर्ल्ड टुर बेङलुरुले संयुक्त अधिराज्य र रुसका लागि यो पर्यटन सेवा शुरु गरेका छन् ।
यो पर्यटनको लाभ उठाउने पर्यटकहरुले सम्बन्धित देशमा गएर २२ देखि २४ दिनभित्र कोभिड १९ विरुद्धको खोप लगाउने र घुमघाम गर्ने अवसर प्राप्त गर्छन् । यो प्याकेजभित्र हवाइजहाजको आतेजाते टिकट, खाजा,खाना,विभिन्न स्थलहरुको भ्रमण अवलोकन र भीसा खर्च समेत जोडिएको हुन्छ । यो नयाँ सेवा धनाढ्य भारतीयले उपभोग गर्न थालेका छन् ।
कुन कुन देशमा खोप पर्यटन ?
खोप पर्यटकको मुलुकहरुमा एशियाली देश मुख्यतः भारत, थाइलेन्ड र युरोपेली मुलुकहरु रहेका छन् भने रुस,संयुक्त अधिराज्य र सर्बियालगायतका मुलुकले अहिले खोप पर्यटक भित्र्याउन शुरु गरेका छन् । र दक्षिण एशियाली मुलुक माल्दिभ्सले त तीन भी अर्थात् भिजिट,भ्याक्सिनेट र भ्याकेसनको नारा दिएर खोप पर्यटनलाई अघि बढाउने भएको छ ।
यी देशहरुका अनुसार इण्डियन भेरियन्टको कोरोना भाइरसले गर्दा अहिले यो पर्यटनको सम्भावना झनै चुलिएर गएको छ ।
टिप्पणीहरू