सात राउण्ड अश्रुग्याँस प्रहार,छ घर तोडफोड,एक नियन्त्रणमा(भिडियो)
उदयपुरको टारी नगरपालिका–४ बजारस्थित सन्तबहादुर सुनुवारको निर्माणाधीन पक्की घर र मानबहादुर दनुवारको क्रियापुत्री बसेको घर डोजर लगाई भत्काइएपछि कटारी बजार तनावग्रस्त हुन पुगेको छ ।
जेठ ५ गते दिउँसो भएको यस घटनालई सामान्य बनाउन प्रहरीले सात सेल अश्रुग्याससमेत फायर गरेको छ । घर भत्काएको एक डेढ घण्टापछि जम्मा भएको समूहले कटारीको कडा निषेधाज्ञालाई तोड्दै नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ,उपप्रमुख भीमकुमारी राउत,वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण दनुवार र प्राविधिक ओम मिश्रको घरमासमेत ढुंगामुढा गरी क्षति पुर्याएको छ ।
तोडफोडका कारण घरको शिशाका झ्यालहरु पुरै क्षतिग्रस्त भएका छन् । र तोडफोडमा संलग्न भएको आरोपमा कटारी –३ शान्तिचौकका २६ वर्षीय शरद सुनुवारलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको सुरक्षास्रोतले जनाएको छ । घटनामा मानवीय क्षति भएको छैन । सुरक्षास्रोतका अनुसार अहिले कटारी बजारको अवस्था पूर्ण नियन्त्रणमा रहेको छ ।
विवादको चुरे अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) बर्दिबासले सो जग्गा भूमाफियासँग मिलोमतो गरी बेचेको आरोपमा नगरपालिकाविरुद्ध छानविन गर्दैछ ।
नगरपालिकाले भने सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति अघि सार्दै भूमाफियालाई जग्गा अतिक्रमण गर्न र हडप्नबाट रोक लगाउने नीति बनाएको प्रतिउत्तर फर्काएको छ । यस्तो बेला विवादित र नगरपालिकाको स्वामित्व स्थापित हुने कि. नं.७८ र १०८ को करिब २ विगाहा ७ कठ्ठा जमिनमा कुनै पनि आवास गृह बनाउन नदिने नीति लिएकोले भूमाफियाहरु एकजुट भई विरोधमा उत्रिएको आरोप लगाएको छ । तर भूमि अधिकार मञ्च उदयपुरका सदस्य केदार राना मगरले भने कोभिड १९ को बेला जनताको घर जवर्जस्ती भत्काएर अन्याय गरेको आरोप लगाउनु भएको छ ।
रानाका अनुसार १० वर्षअघिदेखि सो जग्गामा सुनुवार बस्दै आउनु भएको हो । र, सो जग्गा सार्वजनिक नभएर पहले राई दनुवारको नाममा ७ नम्बरको फाँटबारी अनुरुप दर्ता भएको छ । आन्दोलनकारीका अगुवा राना मगरले भूमि ऐन आठौं संशोधनमा भएको प्रावधानअनुसार सरकारी, राष्ट्रिय र सामुदायिक बन वा नदी उकास भए पनि १० वर्ष भन्दा बढी बसोबास भएको जग्गा नापी गर्ने व्यवस्था भएअनुसार घर बनाएको दावी गरेका छन् ।
विवादित जग्गामा करिब ५ घर पक्की र अन्य १५० जति घरटहरा देखिन्छ । उनले भने,‘जवर्जस्ती गरेर बनाए भने किन बनाए भनेर नगरपालिकाले सोधपुछ गर्न सक्थ्यो । तर कुनै सोधपुछ नै नगरी घर भत्काइदिएको छ ।’
यसबारेमा नगरप्रमुख श्रेष्ठलाई सोध्दा भन्नुहुन्छ,‘भूमि अधिकारकर्मी भन्दै सरकारी जग्गा कब्जा गर्ने,घर बनाउँदै बेच्ने भूमाफियाको घर भत्काएको हो । सरकारी जग्गा कुनै पनि हालतमा भूमाफियाको कब्जामा हुन दिइने छैन ।’ उनले भने,‘ वास्तविक सुकुम्वासी र अव्यवस्थित बसोबासवालाको जग्गाको लगत विवरण लिइएको छ ।
उहाँहरुलाई जग्गाको धनी लालपुर्जा वितरण गर्ने कार्यक्रम अघि बढेकै छ ।’ मेयर श्रेष्ठले भने,‘ सन्तबहादुर सुनुवार र बालकृष्ण थापाहरुले पक्कि घर बनाउदै बेचेको, अन्य जग्गा पनि बेचेको कुरा कोबाट छिपेको छ र? वर्षौदेखि बसोबास गर्दै आएकालाई त अव्यवस्थित बसोबासभित्र परेकोले स्वतः लालपुर्जा दिइ हाल्छौँ नि ! त्यस्ता सोझासाझाबाट रकम असुल्नेविरुद्ध कडा कार्यवाहीमा ओर्लिएको हो ।’ उनले भूमाफियाले फैलाएको भ्रममा नपर्न हुन सर्वसाधारणसमेतलाई आग्रहसमेत गरेका छन् ।
पीडित भनिएका भूमिअधिकार मञ्चका जिल्ला सदस्यले दिएको जानकारीअनुसार नगरपालिकाको ज्यादतिविरुद्ध भोलि अझ सशक्त आन्दोलन गरिने छ ।
टिप्पणीहरू