अक्सिजन सिलिण्डर कालोबजारी गरेको अभियोगमा ललितपुरबाट ३ जना पक्राउ

अक्सिजन सिलिण्डर कालोबजारी गरेको अभियोगमा ललितपुरबाट ३ जना पक्राउ

अक्सिजन सिलिण्डरको कृत्रिम अभाव सिर्जना र कालोबजारी गरेको अभियोगमा ३ जनालाई ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–१५, सातदोबाटो बस्ने नुवाकोट बिदुर नगरपालिका–३ का ३९ वर्षीय रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका–१२, लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ का ४२ वर्षीय नवराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका–२ का ४२ वर्षीय रामशरण अधिकारी हुन् ।

कोभिड–१९ को कारण हाल अस्पतालमा उपचाररत विरामीहरूको लागि अक्सिजन सिलिण्डर अभाव भइरहेको सन्दर्भमा बढी मूल्यमा सिलिण्डर बिक्री गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले बजारमा बढीमा १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिण्डरलाई बजार मूल्यभन्दा बढी लिई प्रतिसिलिण्डर ४१ हजार रुपैयाँमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै उनीहरुको साथबाट अक्सिजन भरिएको सिलिण्डर १ थान, सोही सिलिण्डर बिक्री गर्दै गरेको नगद ४१ हजार रुपैयाँ र ४ थान रसिद समेत प्रहरीले बरामद गरेको छ ।

टिप्पणीहरू