महामारीमा मिडियालाई कति मर्का

महामारीमा मिडियालाई कति मर्का

“युट्युब-अनलाइन टिभीका नाममा सञ्चालित माध्यम अनुगमनको निम्ति नीतिगत निर्णय गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पुनः जानकारी गराउनेसमेत बैठकले निर्णय गरेको छ ।”

प्रेस काउन्सिल नेपालले कोरोना महामारीवीच पत्रकारिता क्षेत्रमा उत्पन्न समस्या र जटिलताका विषयमा छलफल तथा निर्णय गर्न भर्चुअल बैठकको आयोजना गरेको छ । काउन्सिलले कोभिड–१९ का कारण सिर्जित समस्या समाधान र पत्रकार आचारसंहिताको पालना एवं उल्लंघनको अवस्था अध्ययन गर्न सबै प्रदेशमा रहेका काउन्सिल सदस्यलाई जिम्मेवारी तोकी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ ।

साथै,बैठकले देशभरका कोरोनापीडित पत्रकार,संक्रमित पत्रकार,निधन भएका पत्रकारका परिवार तथा आफन्तलाई राहत तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन नेपाल सरकार, राष्ट्रिय-अन्तर्राष्ट्रिय दाता, सहयोगी संस्था तथा मनकारी व्यक्ति-संस्थालाई अपिलसमेत गरेको छ ।

यस्तै बैठकले अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारलाई थप सावधानी अपनाई समाचार सँकलन,सम्प्रेषण गर्न आग्रह गरिएको छ ।

निषेधाज्ञा जारी भएपछि प्रकाशन हुन नसकेका पत्रपत्रिकाको वर्गीकरण प्रभावित हुन नदिन पत्रपत्रिका वितरण सम्परीक्षण समितिलाई लेखी पठाउने, मिडियाका रूपमा युट्युब-अनलाइन टिभीका नाममा सञ्चालित माध्यम अनुगमनको निम्ति नीतिगत निर्णय गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पुनः जानकारी गराउनेसमेत बैठकले निर्णय गरेको छ ।

त्यस्ता युट्युब-अनलाइन टिभीलाई काउन्सिलमा सूचीकरण हुन आउन पुनः आह्वान गर्ने,कुनै संस्थाका मुखपत्रको रूपमा सञ्चालित अनलाइनको काउन्सिलमा दर्ता-सूचिकरण नगर्नेलाई मान्यता नदिन सूचना तथा प्रसारण विभाग र अन्य सम्बन्धित निकायलाई आग्रह गर्ने, पत्रकार आचारसंहिता प्रचार–प्रसारका लागि तत्काल जिङ्गल बनाई सन्देश प्रवाह गर्ने र प्रत्येक हप्ताको एकदिन पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको पछिल्लो तथ्याङ्कअनुसार कोरोनाको दोस्रो लहरपछि हालसम्म मुलुकभर १६ जना पत्रकारको निधन भएको,८ सय ५० जना सङ्क्रमित भएकामा ८ जनाको आइसियू र भेन्टिलेटरमा राखी उपचार भइरहेको र २ सय ५० जना सक्रिय सँक्रमित रहेको जनाइएको छ ।

टिप्पणीहरू